धनगढी । कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको पार्टीले सुरुवाती अग्रता लिएको छ ।
पहिलो एक सय मतको गणना सकिंदा रेशमकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठित नागरिक उन्मुक्ती पार्टीका मेयर पदका उम्मेदवारले ३४ मतसहित अग्रता लिएको निर्वाचन अधिकृत पुष्कर खड्काले जानकारी दिनुभयाे ।
उहाँकाअनुसार नागरिक उन्मुक्ती पार्टीलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेका उम्मेदवारले १८ मत प्राप्त गरेका छन् भने सत्तारुढ गठबन्धनका उम्मेदवारले १६ मत पाएका छन् ।
५२ हजार बढी मतदाता रहेको टीकापुर नगरपालिकामा शुक्रबार भएको निर्वाचनमा ३१ हजार २९३ मत खसेको थियो । टीकापुरमा शनिबार बिहानदेखि मात्रै मतगणना सुरु भएको हो ।
गोरखा नगरपालिका १ मा कांग्रेसका कुँवर विजयी
गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ । गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा १ मा कांग्रेसको प्यानल नै विजयी भएको हो । कांग्रेसका वडाध्यक्षका उम्मेदवार हिक्मत कुँवरले ४९२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँका निकतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का गोविन्दप्रसाद भट्टराइले ३४१ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ । मतगणनाको अन्तिम परिणाम घोषणा गर्न भने बाँकी छ ।
वडा नं १ मा कांग्रेस प्रमुख पदका उम्मेदवार राजनराज पन्तले ४८३ र उपप्रमुख मसलीमाया थोकरले ४९५ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै माओवादीका प्रमुख पदका उम्मेदवार कृष्णराना मगरले ३८६ मत प्राप्त गर्नुभएको छ । मतपरिणामअनुसार विजयी कांग्रेस महिला सदस्यका उम्मेदवारले ४६७, दलित सदस्यमा ४८०,
पुरुष खुला सदस्यमा ५२३ र महिला खुला सदस्यका उम्मेदवारले ५१४ मत ल्याएर विजयी भएका हुन् । वडा नं १ मा कूल एक हजार २१२ मत खसेको थियो ।
राप्ती गाउँपालिका –९ मा माओवादीका मगर विजयी
स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुआत गरेको छ ।
राप्ती गाउँपालिका–९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी हुनुभएको छ । ७१४ मत खसेकामा उहाँले ३५८ मत प्राप्त गर्नुभएको थियो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश चुहानले १९८ मत प्राप्त गर्नुभएको थियो । उहाँ यसअघि पनि सोही वडामा अध्यक्ष निर्वाचित हुनुभएको थियो । राप्तीमा माओवादी र जनमोर्चाले गठबन्धन गरेका थिए ।