भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा एमाले विजयी

दार्चुला । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र पर्ने दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार अशोक सिंह बोहराको प्यानल नै विजयी भएको छ ।

बोहरा १९५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वडाध्यक्षका उम्मेदवार शंकर एतवालले १५६ मत पाए । ६०६ जना मतदाता रहेको यस वडामा३५५ मत खसेको थियो ।

त्यस क्षेत्र जान नेपालतर्फ बाटो नहुँदा सेनाको हेलिकोप्टरबाट मतपेटिका ढुवानी गरी शनिबार दिउँसोबाट मतगणना सुरु गरिएको ब्यास गाउँपालिका निर्वाचन अधिकृत कोसलेस्वर ज्ञवालीले बताए ।

भरतपुर महानगरपालिका अपडेट

चितवनको भरतपुर महानगरपालिकामा १,५०० मतगणना भएको छ । मेयरमा गठबन्धनकी साझा उमेदवार नेकपा (माओवादी केन्द्र)की नेतृ रेनु दाहालले ५६९ मत प्राप्त गर्दै अग्रता कायम गरेकी छन् ।

उनलाई पछ्याइरहेका नेकपा (एमाले)का विजय सुवेदीले ५१९ मत प्राप्त गरेका छन् । दाहाल र सुवेदीबीच ५० मतको अन्तर छ । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १८८ मत ल्याएका छन् ।

काठमाडौंको टोखामा नेकपा एमालेको अग्रता

काठमाडौंको टोखा नगरपालिकाको प्रमुखमा नेकपा एमालेको अग्रता कायमै रहेको छ।

४ हजार ९१ मतगणना हुँदा नेकपा एमालेका मेयर उम्मेवदार प्रकाश अधिकारीले १ हजार ६ सय १९ मतसहित अग्रता लिएका हुन्। उनलाई नेपाली कांग्रेसकी रजनी थापाले १ हजार ३ सय ६३ मतसहित पछ्याइरहेकी छन्।

उपमेयरमा पनि नेकपा एमालेका ज्ञानमाया डंगोलले अग्रता बनाएकी छन्। उनले १ हजार ५ सय २६ मत पाउँदा कांग्रेसका मुरारी तामाङले १ हजार ३ सय ६९ मत पाएका छन्।

धनगढीमा हमालकाे कमाल 

सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् । शनिबार राति १० बजेसम्म कुल गणना भएको १३५३ मतमध्ये हमालले ६१८ मतका साथ अग्रता कायम राखेका छन् ।

उनलाई सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले पछयाइरहेका छन् । वडले ३९८ मत पाएका छन् भने नेकपा एमालेका मेयर पदका उम्मेदवार रणबहादुर चन्दले ५३ मत मात्रै प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपमेयरमा भने सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार शान्ति अधिकारीले अग्रता लिएकी छन् । उनलाई स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले पछ्याइरहेका छन् । तर उपमेयरको पछिल्लो मतपरिणाम भने सार्वजनिक गरिएको छैन ।

Leave a Reply

Your email address will not be published.