काठमाडौंको मेयरमा बालेन शाहले कटाए हजार मत, कसकाे कति (मध्येरातिकाे अपडेट)

काठमाडाैं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता कायमै राखेका छन्। ३२५९ मत गणना हुँदा बालेनले १०५३ मत ल्याएका छन्।

निर्वाचन अधिकृतले दिएको जानकारीअनुसार साहका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ८३८ मत ल्याएका हुन् ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ६३६ मत ल्याएकी छन्। मेयरमा स्वतन्त्र उम्मेदवार शाहले मतान्तर बढाइरहेका छन्।

८ पालिकामा सत्ता गठबन्धन विजयी, एमाले एक्लैले जित्यो ६ पालिका

सत्ता गठबन्धनले जारी मतगणनाको प्रारम्भिक नतिजाअनुसार ८ पालिकामा जीत हासिल गरेको छ । जसमा एक नगरपालिका समेटिएको छ भने बाँकी सबै गाउँपालिका हुन् ।

नतिजा आएका हिमाली जिल्लाका अधिकांश पालिकामध्ये काँग्रेसले ५ पालिकामा जित हासिल गर्दा माओवादी केन्द्रले एक र एकीकृत समाजवादी पार्टीले ३ पालिका जितेको छ ।

एकीकृत समाजवादीले जितेका डोल्पाका दुबै पालिका निर्विरोध भएको हो । यस्तै एमालेले एक्लै ६ पालिका जितेको छ।

शुक्रबार सम्पन्न स्थानीय निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनको महानगरपालिका र उपमहानगरपालिकासहित विभिन्न स्थानीय तहहरुमा गठबन्धन रहेको छ ।

मतगणनाको प्रारम्भिक रुझान अनुसार काँग्रेस पहिलो पार्टी बन्ने देखिएको छ । काँग्रेस हालसम्म मतगणना भएकामध्ये १७० भन्दा बढी पालिकामा अग्रस्थानमा रहेको छ भने एमाले १०० भन्दा बढी पालिकामा अघि रहेको छ ।

यस्तै माओवादी ६० को हाराहारीका पालिकामा अग्रस्थानमा हुँदा जसपा, राप्रपा, एकीकृत समाजवादी लगायतका दलहरुले पनि केही सिटमा अग्रता राखेका छन् ।

हेटौँडा उपमहानगरपालिका अपडेट

हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा एकीकृत समाजवादी र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ । ३५३३ मत गन्दा मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार मीना लामाले तीन मतले अगाडि छिन् ।

गठबन्धनबाट मेयर पदकी उम्मेदवार लामाले १०६९ मत ल्याएकी छन् । एमालेका मेयरका उम्मेदवार अनन्त पौडेलले १०६६ ल्याएका छन् भने राप्रपाका दीपकबहादुर सिंहले ९४९ मत पाएको छन् । ​

उपमेयरमा भने काँग्रेस उम्मेदवार राजेश बानियाले १५४२ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्ले १२७० मत ल्याएकी छन् । राप्रपाकी इन्दिरा डल्लाकोटी २६० प्राप्त गरेकी छिन् ।

 

Leave a Reply

Your email address will not be published.