गुल्मीदरवार गाउँपालिकामा कांग्रेसका थापा विजयी

तमघास । गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका सरोज थापा निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै तारा थापा निर्वाचित भएकी छन् ।

अध्यक्षमा थापाले ६ हजार १६६ मत ल्याएका छन् भने उपाध्यक्षमा थापाले ६ हजार १८८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालय गुल्मीले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार कृष्ण भुसालले ५ हजार ६०२ मत ल्याएका थिए । उपाध्यक्षमा एमाले उम्मेदवार सुशिला पुनले ५ हजार ५८९ मत ल्याएकी छन् ।

गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

नेपाली कांग्रेसबाट वडानम्बर १ मा राजेन्द्र कंडेल, ३ मा रामबहादुर थापा, ६ मा मुकेश थापा र ७ मा शालिकराम टण्डन निर्वाचित भएका छन् ।

नेकपा एमालेबाट वडानम्बर २ मा विष्णु गौतम, ४ मा देविराम पोखरेल र ५ मा गुणनिधी पौडेल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि नेपाली कांग्रेसले नै अध्यक्ष र उपाध्यक्ष पद जितेको थियो ।यसपटकको निर्वाचनमा गुल्मीको रेसुंगा नगरपालिकामा पनि नेपाली कांग्रेसले जितेको छ ।

सत्ता गठबन्धनले जारी मतगणनाको प्रारम्भिक नतिजाअनुसार ८ पालिकामा जीत हासिल गरेको छ । जसमा एक नगरपालिका समेटिएको छ भने बाँकी सबै गाउँपालिका हुन् ।

नतिजा आएका हिमाली जिल्लाका अधिकांश पालिकामध्ये काँग्रेसले ५ पालिकामा जित हासिल गर्दा माओवादी केन्द्रले एक र एकीकृत समाजवादी पार्टीले ३ पालिका जितेको छ ।

एकीकृत समाजवादीले जितेका डोल्पाका दुबै पालिका निर्विरोध भएको हो । यस्तै एमालेले एक्लै ६ पालिका जितेको छ। शुक्रबार सम्पन्न स्थानीय निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनको महानगरपालिका र उपमहानगरपालिकासहित विभिन्न स्थानीय तहहरुमा गठबन्धन रहेको छ ।

मतगणनाको प्रारम्भिक रुझान अनुसार काँग्रेस पहिलो पार्टी बन्ने देखिएको छ । काँग्रेस हालसम्म मतगणना भएकामध्ये १७० भन्दा बढी पालिकामा अग्रस्थानमा रहेको छ भने एमाले १०० भन्दा बढी पालिकामा अघि रहेको छ ।

यस्तै माओवादी ६० को हाराहारीका पालिकामा अग्रस्थानमा हुँदा जसपा, राप्रपा, एकीकृत समाजवादी लगायतका दलहरुले पनि केही सिटमा अग्रता राखेका छन् ।

 

Leave a Reply

Your email address will not be published.