रेनु दाहालले बढाइन अग्रता, कसकाे कति मत ८ बजेकाे अपडेट

चितवन । भरतपुर महानगरपालिकामा मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता कायम नै राखेकी छन् ।

३१६८ मतगणना हुँदा रेनुले ११७८ मतका साथ अग्रता कायम राखेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १०६८ मत ल्याएका छन् ।

यस्तै काँग्रेसमा विद्रोह गरी बागी उम्मेदवारी बनेका जगन्नाथ पौडेलले ३९० मत ल्याएका छन् । उपमेयरमा पनि सत्ता गठबन्धनबाट काँग्रेसका उम्मेखदवार चित्रसेन अधिकारीको अग्रता छ ।

एमाले–राप्रपा गठबन्धनबाट राप्रपाकी हिमला गुरुङले अधिकारीलाई पछ्याई रहेकी छिन् । गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

यस्तै जिल्लाका अन्य पालिकामा रत्ननगर र खैरहनीमा पाँच दलीय गठबन्धनको अग्रता रहेको छ भने माडी, कालिका, राप्ती र इच्छाकामनामा एमालेले अग्रता कायम गरेको छ ।

धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता

धरान उपमहानगरपालिकामा तीन हजार ५०० मत गणना गर्दा मेयर पदमा गठबन्धनका उम्मेदवार किशोर राई अग्रस्थानमा छन् ।

पछिल्लो मत परिणामअनुसार उनले एक हजार ३४० प्राप्त गरेका छन् । स्वतन्त्रका उम्मेदवार हर्क साङपाङले ९२२ प्राप्त गरेका छन् ।

नेकपा (एमाले)की मञ्जु भण्डारीले ७०६ मत प्राप्त गरेकी छन् । उपमेयरमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का आइन्द्रविक्रम बेघाले एक हजार ४२९ र एमालेका पदम लिम्बूले ८४४ मत प्राप्त गरेका छन् ।

हाल वडा नं १, २ र ३ को मत गणना जारी छ । यी बजार क्षेत्र कांग्रेसको पकट क्षेत्र मानिन्छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा १ र २ कांग्रेस र ३ मा एमालेले विजयी गरेको वडा हुन् ।

धरान २ मा एमालेका राई विजयी

धरान –२ को वडाध्यक्ष पदमा एमालेका उम्मेदवार रमेश राईले ६९५ मत विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेसका सुधीरसिंह लिम्बूले ६२३ मत प्राप्त गरेका छन् ।

अन्य सदस्यमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् । २ नं वडामा २०७४ को निर्वाचनमा कांग्रेसले विजय हासिल गरेको थियो ।

ललितपुरमा चिरिबाबुको दोब्बरले अग्रता

ललितपुर महानगरपालिकामा गठबन्धनबाट मेयर पदमा उम्मेदवारी दिएका चिरिबाबु महर्जन दोब्बर मतले अग्रता लिएका छन्।

१४ सय मत गणना हुँदा उनले ७ सय ६ मत ल्याएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३ सय ३६ ल्याएका छन्।

उपमेयरमा नेकपा एमालेले अग्रता लिएको छ। एमालेका उम्मेदवार मञ्जली शाक्य बज्रचार्यले ३ सय ७२ मत ल्याएकी छन्। यता, गठबन्धनका लागि माओवादी केन्द्रका उम्मेदवार बाबुराम बज्राचार्यले २ सय ६७ मत ल्याएका छन्।

Leave a Reply

Your email address will not be published.