निरन्तर मतान्तर बढाउँदै बालेन, स्थापितले भेट्टाउनै सकेनन् – उछिन्ने कहिले !

काठमाडाैं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । पछिल्लो परिणामअनुसार उनले १८ सय ९६ मत पाएका छन् ।

बालेनलाई पछ्याइरहेका एमालेका केशव स्थापितको १०९७ मत पुगेको छ । सत्ता गठबन्धनकी सिर्जना सिंहको ९ सय ४९ मत छ । अहिले वडा नम्बर १,२,३,४ र ३२ को मतगणना भइरहेको छ ।

उपमेयरमा एमालेकी सुनीता डंगोलले १ हजार ८५२ मत ल्याएर प्रतिद्वन्द्वीसँग ठूलो मतान्तर कायम गरेकी छिन् । उनकी निकटम प्रतिद्वन्द्वी एकीकृत राप्रपाकी विनिता मगैयाले ६४४

र एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५३९ मत पाएका छन् । अहिले राष्ट्रिय सभागृहमा १,२,३,४ र ३२ वडाको मत गणना भइरहेको छ ।

भरतपुर महानगरमा ३१६८ मत गन्दा मेयरमा ३ सय मत बदर

चितवनकाे भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ। आइतबार बिहानसम्म ३१६८ मत मतगणना सकिँदा बदर मत पनि बढेको छ । हालसम्म मेयरमा ३०० मत बदर भएको छ ।

उपमेयरमा २२४ मत बदर भएको जानकारी गराइएको छ । मतगणनाको अपडेट गणनास्थलबाट निर्वाचन अधिकृतको कार्यालयले समयसमयमा जानकारी गराउँदै आएको छ ।

पछिल्लो मतगणनाअनुसार मेयरमा रेनु दाहालले अग्रता बनाइरहेकी छन् ।सत्ता गठबन्धनबाट मेयर उम्मेदवार माओवादी केन्द्रकी दाहालले ११७८ मत ल्याएर अग्रता कायमै राखेकी छन्।

उनले नेकपा एमालेका विजयी सुवेदीलाई पछि पारेकी हुन्। सुवेदीले १०६८ मत पाएका छन्। यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४११ मत पाएका छन्। अहिलेसम्म ३१६८ मत गणना भएको छ।

पोखरामा गठबन्धनका उम्मेदवारहरू आचार्य र रानाभाट अगाडि

स्थानीय तहको निर्वाचन अन्तर्गत पोखरा महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार धनराज आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाट अगाडि देखिएका छन् ।

महानगरको वडा नं. १, २ र १६ को मतगणना जारी रहँदा आचार्य र रानाभाट अघि देखिएका छन् । तीन वटा वडाका १६ सय मत गन्दा आचार्यले ६३१ र रानाभाटले ७१६ मत प्राप्त गरेका छन् ।

यसै गरी नेकपा एमालेका मेयर पदका उम्मेदवार कृष्ण थापाले ५८३ र उपमेयर पदकी उम्मेदवार मञ्जु देवी गुरुङले पनि ५८३ मत नै प्राप्त गरेका छन् ।

हेटौंडा उपमहानगरमा एमालेको अग्रता  

बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकामा नेकपा (एमाले)का मेयरका उम्मेदवार अनन्त पौडेलले अग्रता लिएका छन्।

आइतवार बिहानको नतिजा अनुसार‚ कुल ५००२ मत गणना गर्दा एमालेका पौडेलले एक हजार ५१५ मत सहित १४ मतले अग्रता लिएका हुन्।

गठबन्धनबाट मेयरको उम्मेदवार नेकपा (एकीकृत समाजवादी) की मीना लामा दोस्रो स्थानमा छन्। उनले १ हजार ५०१ प्राप्त गरेकी छन्। राप्रपाका उम्मेदवार दीपकबहादुर सिहले १ हजार ३८४ प्राप्त गरेका छन्।

उपमेयरमा भने गठबन्धनको उम्मेदवारको अग्रता कायमै छ। गठबन्धनबाट उम्मेदवार राजेश बानियाँले दुई हजार २२७ मत पाउँदा

एमालेका उम्मेदवार सुमित्रा काफ्लेले एक हजार ८०६ मत पाएकी छन्। राप्रपाकी इन्दिरा डल्लाकोटीले ४२१ मत प्राप्त गरेकी छन्।

Leave a Reply

Your email address will not be published.