म्याग्दीमा पनि एमालेले फहरायाे विजयकाे झण्डा, कांग्रेसले हार्‍यो !

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उमेदवार बेगप्रसाद गर्बुजा निर्वाचित भएका छन् । गर्बुजा तीन हजार ९१ मत ल्याएर निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा पनि एमालेकै उमेदवार लक्ष्मीदेवी पुन तीन हजार १६७ मतसहित निर्वाचित भएकी छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा दोस्रो स्थानमा रहेका कांग्रेसका श्रीप्रसाद रोकाले दुई हजार ९७० मत ल्याएका छन् । नेकपा (माओवादी केन्द्र)का रेशमबहादुर जुग्जालीले दुई हजार २२५ मत पाएका छन् ।

उपाध्यक्षमा दोस्रो स्थानमा रहेकी कांग्रेसकी पिपला बुढाथोकीले तीन हजार १३९ मत ल्याएका उक्त कार्यालयले जनाएको छ ।

यस्तै, मुस्ताङको थासाङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रदीप गौचन निर्वाचित भएका छन् । गौचनले ११४४ मत पाए भने कांग्रेसका उम्मेदवार बालकुमारी शेरचनले १०५५ मत ल्याइन् ।

उपाध्यक्ष पदमा भने नेपाली कांग्रेसका उम्मेदवार सोमल हिराचनले १११२ मत प्राप्त गरी निर्वाचित भएका छन् भने एमालेका उम्मेदवार सुमिता शेर्पाले १०८० मत ल्याइन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुबै पद जितेको नेपाली कांग्रेसले यसपटक भने अध्यक्ष पद गुमाएको हो ।

थासाङ गाउँपालिकाको वडा नं ३ र ४ मा नेपाली कांग्रेसको प्यानल बिजयी भएको छ भने वडा नं २ मा नेकपा एमालेको प्यानल विजयी भएका हुन् ।

थासाङ १ र ५ मा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ भने त्यहा अन्य सदस्य नेकपा एमालेले जितेको छ । यो सँगै मुस्ताङका ४ स्थानीय तहमा एमालेले जीत निकालेको छ ।

यस्तै म्याग्दीको बेनी नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका यामबहादुर कार्कीले एक हजार दुई मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका डम्मर सापकोटाले ७१८ मत प्राप्त गरे । त्यस्तै स्वतन्त्र उम्मेदवार सम्राट सापकोटाले ४० मत प्राप्त गरे। नगरपालिकामा कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धन रहेको छ ।

वडा सदस्यमा गठवन्धनका कृष्णबहादुर कार्की, चन्द्रकान्त रिजाल, वविता सापकोटा र बिष्णुकुमारी सार्की विजयी भएका छन् ।

जम्मा १० वडा रहेको बेनी नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रले अग्रता लिएका छन् ।

त्यस्तै प्रमुखमा एमालेका सुरत केसीले एक हजार ६१६, गठबन्धनबाट कांग्रेसका चिरञ्जिवी शर्माले एक हजार ४४३, उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रकी ज्योती लामिछाने पौडेलले एक हजार ४८७ र एमालेकी पशुपति शाहीले एक हजार १५६ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published.