काठमाडाैंमा बालेनकै अग्रता, एकाबिहानै आयो यस्तो विवरण (मतसहित)

काठमाडाैं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायम छ । गठबन्धन र एमालेका उमेदवारलाई पछि पार्दै उनले निरन्तर अग्रता कायम राखेका छन् ।

हालसम्म १३ हजार ७१४ मतगणना भएको छ । बालेनका पक्षमा ५ हजार २१४ मत प्राप्त भएको छ । एमालेका केशव स्थापितले २ हजार ८३२ मत प्राप्त गरेका छन् ।

पाँच दलीय सत्ता गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले २ हजार ४७० मत पाएकी छन् । उपमेयरमा भने एमालेकी सुनीता डङ्गाेलले भारी मतसहित अग्रता लिइरहेकी छिन् ।

उता, भरतपुर महानगरपालिकामा आठ हजार ८६३ मतको गणना सकिएको छ । अहिले वडा नम्बर ३ को मतगणना भइरहेको छ ।

रेनु दाहालले तीन हजार १४७ मत ल्याउँदा एमालेका सुवेदीले तीन हजार १५३ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पाैडेलले एक हजार ९३ मत पाएका छन् ।

उपमेयरमा सत्ता गठबन्धनका उमेदवारले तीन हजार ४९८ मत प्राप्त गरेका छन् । राप्रपाका उमेदवारले दुई हजार ५११ मत प्राप्त गरेका छन् ।

वडा नम्बर –३ को वडाध्यक्षमा एमाले उमेदवारले ३७९ मत पाएका छन् भने कांग्रेस उमेदवारले २५१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, पोखरा महानगरपालिकाको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार मेयर पदका उम्मेदवार धनराज आचार्यले अग्रतालाई निरन्तरता दिएका छन् ।

उनले ३ हजार ४६५ मत प्राप्त गर्दा नेकपा एमालेका कृष्ण थापाले ३ हजार १०८ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाका शंकर खरालले ४६२ मत प्राप्त गरेका छन् ।

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत सोमबार बिहान साढे ५ बजेसम्ममा ७६ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।

जसमा नेकपा एमाले २८, नेपाली कांग्रेस २५, नेकपा (माओवादी केन्द्र)ले २१ र नेकपा (एकीकृत समाजवादी)ले २ स्थानीय तहमा प्रमुख पद जितेका छन् ।

उपप्रमुखमा सबभन्दा बढी कांग्रेसले ३६, एमाले २१, माओवादी १३, एकीकृत समाजवादी ४, जनता समाजवादी पार्टी १ र स्वतन्त्र १ जितेका छन् ।

मतगणना जारी स्थानमध्ये प्रमुखतर्फ कांग्रेसले सबभन्दा बढी २६८, एमाले १६७, माओवादी केन्द्र ९५ र एकीकृत समाजवादीले १७ स्थानमा अग्रता लिएका छन् ।  यस्तै जसपा २८, लोकतान्त्रिक समाजवादी पार्टीले ११ स्थानमा अग्रता लिइरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published.