काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । अहिले कांग्रेस महामन्त्री गगन थापाकाे चुनाव क्षेत्र पर्ने वडा नम्बर २९ को मतगणना सुरु भएको छ ।
यो वडामा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । यो वडा कांग्रेस नेता तथा मेयर उम्मेदवार सिर्जना सिंहका श्रीमान् प्रकाशमान सिंहको निर्वाचन क्षेत्रमा पर्छ ।
प्रारम्भिक मत परिणाम अनुसार बालेनले ७३ भोट पाउँदा सिर्जना सिंह दाेस्राेमा छिन् । उनले बालेनलाइ पछ्याउँदै ६२ मत पाएकी छन् । एमालेका केशव स्थापितले ३२ मत पाएका छन् ।
अहिलेसम्म मेयर उम्मेदवार बालेनले १२५५३ मत ल्याएर अग्रता कायम राखेका छन् । यस्तै एमाले उम्मेदवार केशव स्थापितले ६७०६ र कांग्रेस उम्मेदवार सिर्जना सिंहले ५९५७ मत ल्याएकी छन् ।
यस्तै, काठमाडौं उपमहानगरपालिकाको उपमेयरमा नेकपा (एमाले) उमेदवार सुनिता डंगोल १२ हजार १५७ मत सहित पहिलो नम्बरमा छिन् ।
३१ हजार २५३ मतगणना हुँदा डंगोललाई नेकपा (एकीकृत समाजवादी) उमेदवार रामेश्वर श्रेष्ठले आठ हजार ५४३ मतान्तरसहित पछ्याइरहेका छन् । श्रेष्ठले तीन हजार ६१४ मत प्राप्त गरेका छन् ।
गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । मतगणनाअनुसार दोस्रो स्थानमा रहेको नेकपा एमालेले शतक कटाएको छ ।
एमालेले मंगलबार साँझसम्म १०१ स्थानमा विजय हासिल गरेको छ भने जारी मतगणनाअनुसार सो पार्टीले दोस्रो स्थान हासिल गरेको छ।
यता नेपाली काँग्रेस सर्वाधिक १५० स्थानीय तह जितेको छ भने माओवादी केन्द्र ७४ स्थानीय तह जित्दै तेस्रो स्थानमा रहेको छ ।
यस्तै एकीकृत समाजवादीले ५ स्थानमा जित्दा स्वतन्त्र उम्मेदवारले ४ स्थानीय तह जितेको छ । जसपा, जनमोर्चालगायतका दलले पनि केही स्थानीय तहमा जितेका छन् ।
दाङको घोराही उपमहानगरपालिकामा नेकपा (एमाले)ले अग्रता कायम राखेको छ । प्रदेश निर्वाचन कार्यालयअनुसार प्रमुखमा एमालेका उमेदवार नरुलाल चौधरीले १९ हजार १८२ मत पाएका छन् ।
गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का हेमराज शर्मा पोखरेलले १५ हजार ६८५ मत पाएका छन् । उनीहरुको मतान्तर ३ हजार ४९७ रहेको छ ।
त्यसैगरी उपप्रमुखमा एमालेका हुमाकुमारी डिसीले १८ हजार ५९५ मत प्राप्त गरेकी छन् । कांग्रेसका उमेदवार भुपबहादुर डाँगी क्षेत्रीले १८ हजार ८८ मतसहित उनलाई पछ्याइरहेका छन् ।