देवचुली नगरपालिकाको मेयर उपमेयरमा एमाले निर्वाचित

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका प्रमुख–उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । देवचुली नगरपालिका प्रमुखमा एमालेका उम्मेदवार हरिप्रसाद न्यौपाने निर्वाचित भएका हुन् ।

१२ हजार ८०६ मत ल्याएर नगरप्रमुखमा निर्वाचित भएका न्यौपानेका प्रतिस्पर्धी नेपाली कांग्रेसका अशोक बस्ताकोटीले ११ हजार २१० मतमात्रै प्राप्त गरे ।

अहिले नगरप्रमुखमा निर्वाचित न्यौपाने यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७४ मा कांग्रेसका पूर्णकुमार श्रेष्ठसँग पराजित भएका थिए ।

त्यसैगरी देवचुली नगरपालिकाको उपप्रमुखमा एमालेकै उम्मेदवार पार्वता तिवारी निर्वाचित भएकी छन् । तिवारीले १२ हजार ७४९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सत्यनारायण भुसालले आठ हजार २२८ मत प्राप्त गरे ।

अहिले नगर उपप्रमुखमा निर्वाचित तिवारी यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७४ मा समेत नगर उपप्रमुखममा निर्वाचित भएकी थिइन् ।

१७ वटा वडा रहेको देवचुली नगरपालिकामा ११ वटा वडामा एमालेले वडाध्यक्ष जितेको छ भने छवटा वडामा कांग्रेसले वडाध्यक्ष जितेको छ ।

यहाँ यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७४ मा नगरप्रमुख कांंग्रेसका उम्मेदवारले जितेका थिए । यसपटक नवलपुरमा कांग्रेसले यो सहित तीन स्थानमा आफ्नो पकड गुमाएको छ ।

यसअघि प्रमुख अध्यक्ष पद जितेको बौँदीकाली, हुप्सेकोट, बुलिङटार र देवचुली नगरपालिकाको अन्तिम मत परिणाम आउँदा कांग्रेसले हुप्सेकोट गाउँपालिकामा मात्र आफ्नो बिरासत जोगाउन सकेको हो ।

भक्तपुरकाे चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी भएका छन् । एमालेका बिणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।

खत्री नौ हजार ५५० मत प्राप्त गरी विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बाँस्तोलाले नौ हजार १६० मत प्राप्त गरिन् ।

यसपटकको निर्वाचनमा ३९० मतले कांग्रेससँग पराजय भोगेकी बाँस्तोला यसअघि चाँगुनारायण नगरपालिकाको उपमेयर थिइन्।

त्यसैगरी उपमेयरमा एमालेका रमेश बुढाथोकी विजयी भएका छन् । बुढाथोकी ११ हजार १०७ मत प्राप्त गरी विजयी भए भने कांग्रेसकी उम्मेदवार सुभद्रा काफ्लेले नौ हजार ६७ मत प्राप्त गरिन् ।

नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार रवीन्द्रप्रताप शाहले आठ हजार ६७ मत प्राप्त गरे भने नेमकिपाबाट प्रमुखमा उम्मेदवारी दिएका केशवप्रसाद तिमिल्सनाले तीन हजार २६७ मत प्राप्त गरे ।

उपप्रमुखमा राप्रपाका मञ्जु कार्कीले छ हजार ८६ मत र नेमकिपाका कल्पना लामाले तीन हजार ३७४ मत प्राप्त गरिन् ।

त्यस्तै चाँगुनारायण नगरपालिकाको वडाध्यक्षमा वडा नं १ मा कांग्रेसका सिजन कार्की, २ मा कांग्रेसकै सोम प्रधान, ३ मा एमालेका श्यामसुन्दर धिमाल, ४ मा एमालेका रोजबहादुर तामाङ,

५ मा कांग्रेसका जयन्द्र खड्का, ६ मा राप्रपाका धनबहादुर लामा, ७ मा राप्रपाका श्याम नायजू श्रेष्ठ, ८ मा कांग्रेसका जनक खत्री र ९ मा नेमकिपाका गणेश त्यात विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published.