भरतपुरमा रेनुकाे फराकिलाे अग्रता (मतसहित)

चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल एक हजार ७१२ मतले अघि हुनुभएको छ ।

भरतपुर महानगरपालिका–६ को मतगणना सकिँदै गर्दा दाहालले नौ हजार ९७० मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेबाट प्रमुखका प्रत्यासी विजयी सुवेदीले ८ हजार २५८ मत प्राप्त गर्दा स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले चार हजार ५०४ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ९५६ र राप्रपाका हिमला गुरुङले ६ हजार ७४२ मत प्राप्त गर्नुभएको छ ।

वडा अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णलाल श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी डोलनारायण अधिकारीलाई ६१८ मत अन्तरले पराजित गर्नुभएको छ । श्रेष्ठले दुई हजार ७३५ मत र नेकपा एमालेका अधिकारीले दुई हजार ११७ मत प्राप्त गर्नुभएको छ ।

यसअघि महानगरको वडा नं १, २, ४ र ५ को वडा अध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ भने वडा नं ३ मा एमालेका उम्मेदवार निर्वाचित हुनुभएको छ । यस वडामा पाँच हजार ५८२ मत खसेको थियो । भरतपुर महानगरपालिकामा हालसम्म २७ हजार ४३८ मतगणना भएको छ ।

भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडीको प्रमुखमा एमालेले जित हासिल गरेको छ । इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एमाले एवं रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पाँच दलीय गठबन्धनको अग्रता कायम गरेको छ ।

बगनासकालीमा एमाले विजयी

पाल्पाको बगनासकाली गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का सरस्वती दर्लामी (चिदी) निर्वाचित हुनुभएको छ । निवर्तमान गाउँपालिका उपाध्यक्षसमेत रहनुभएकी उहाँ छ हजार ४६६ मतसहित अध्यक्षमा विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिता अधिकारीले पाँच हजार ६३३ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा पनि एमालेबाटै हरिप्रसाद पाठक निर्वाचित हुनुभएको छ । पाँच हजार ८७३ मतसहित उहाँ विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेले चार हजार ७७८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रवि न्यौपानेले जनकारी दिनुभयो ।

बगनासकालीको ९ वडामध्ये १, ६ र ९ मा कांग्रेसले र बाँकी सबैमा एमालेका उम्मेदवारले जितेको छ । यहाँ २०७४ को निर्वाचनमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेबाट निर्वाचित भएको थियो । यससँगै जिल्लाको रम्भा गाउँपालिकाबाहेक नौ पालिकाको मतगणना कार्य सकिएको छ ।

Leave a Reply

Your email address will not be published.