काठमाडाैं महानगरका यी १६ उम्मेदवार जसले अहिलेसम्म एक भोट पनि ल्याएनन् (सूचीसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाको अहिलेसम्म ५० हजार भन्दा धेरै मतगणना भइसकेको छ । तर, मेयर पदका १६ जना उम्मेदवारले भने एक भोट पनि प्राप्त गर्न सकेका छैनन् ।

निर्वार्चन अधिकृतकाे कार्यालयले दिएकाे पछिल्लाे विवरण अनुसार ५ जना उम्मेदवारले काठमाडौंमा एक हजारभन्दा बढी भोट ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार बालेन साह, एमालेका केशव स्थापित, कांग्रेसकी सिर्जना सिंह, राप्रपाका मदनदास श्रेष्ठ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले चार अंकमा भोट बटुलेका हुन् । श्रेष्ठले १४४७ र आँखिझ्याल चुनावचिन्ह लिएका सायमीले १०२१ भोट ल्याएका छन् ।

विवेकशील साझाकी उम्मेदवार समिक्षा बास्कोटालाई १५४ मत मात्र आएको छ । तीन अंकमा भोट ल्याउने उनी मात्र हुन् । नेपाल मजदुर किसान पार्टीका उम्मेदवारले ३० भोट ल्याएका छन् ।

उनीसहित ७ जना उम्मेदवारले दुई अंकमा भोट बटुलेका छन् । यस्तै, सिंगल डिजिटमा भोट ल्याउने उम्मेदवारको संख्या २७ छ ।

बाँकी १५ उम्मेदवारले अहिलेसम्म भोटको खाता नै खोल्न सकेका छैनन् । काठमाडौंमा ५५ उम्मेदवार मेयरको प्रतिस्पर्धामा थिए ।

शून्य भोट ल्याउने उम्मेदवारहरुका चुनावचिन्ह यस्ता छन् ः

१. ब्याडमिन्टन कर्क २. सेफ्टीपिन ३. बिरालो ४. भ्यागुतो ५. कप प्लेट ६. ठेकी ७. जोडी गमबुट ८. भालु  ९. घन्टाघर १०. कंगारु ११. फ्रक १२. चौबन्दी चोलो १३. ग्यास सिलिन्डर १४. प्रेसर कुकर १५. खसीको टाउको १६. बँदेल

बझाङमा आफैलाई भोट नहाल्ने उम्मेदवार फेला

बझाङको बुंगल नगरपालिकाका एक उम्मेदवारले आफैलाई मत नदिएको खुल्न आएको छ। बुंगल नगरपालिका वडा नम्बर १० का उम्मेदवार करे बागले आफैलाई मतदान नगरेका हुन्।

उनी स्वतन्त्र उम्मेदवारको रुपमा वडा अध्यक्ष पदमा उठेका थिए। उनको चुनाव चिन्ह पुतली थियो। तर, बागले आफैलाई मत प्रदान नगरेपछि खाता पनि खोल्न सकेनन्।

स्थानीय निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस वडामा नेपाली कांग्रेसका प्रेम ओखेडाले ३ सय ११ मतसहित अध्यक्ष पदको निर्वाचन जितेका छन्। उनका प्रतिद्धन्द्धी नेकपा एमालेका गणेश पुजाराले २ सय ६१ मत प्राप्त गरे।

तनहुँका आठ पालिकाको नतिजा सार्वजनिक

स्थानीय तह निर्वाचनअन्तर्गत बुधबारसम्म तनहुँका आठ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।

मतगणना सार्वजनिक भएका आठ पालिकाअध्ये नेकपा एमालेले चार, नेपाली कांग्रेसले तीन र नेकपा माओवादी केन्द्रले एक पालिका जितेका छन् । भानु नगरपालिकाको मतगणना जारी छ भने व्यासको केही बेरमा सुरु हुँदैछ ।

एमालेले घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, म्याग्दे गाउँपालिकाको अध्यक्ष जितेको छ । एमालेले भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ । त्यस्तै एमालेले बन्दीपुर गाउँपालिकाको अध्यक्ष जितेको छ ।

नेपाली कांग्रेसले ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, देवघाट गाउँपालिकाको अध्यक्ष, म्याग्दे गाउँपालिकाको उपाध्यक्ष, बन्दीपुर गाउँपालिकाको उपाध्यक्ष, शुक्लागण्डकीको प्रमुख जितेको छ भने नेकपा माओवादी केन्द्रले आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, देवघाट गाउँपालिकाको उपाध्यक्ष र शुक्लागण्डकीको उपप्रमुख जितेको छ ।

घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा, उपाध्यक्षमा राधादेवी अधिकारी, म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन् । भिमाद नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी र उपप्रमुखमा शारदा खनाल विजयी भएका छन् ।

देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा, म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा बालकृष्ण घिमिरे विजयी भएका छन् ।

त्यस्तै देवघाट गाउँपालिकाको उपाध्यक्षमा पञ्चमाया गुरुङ विजयी भएका छन् । शुक्लागण्डकीको नगर प्रमुखमा कृष्ण पण्डित विजयी भएका छन् ।

आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान, उपाध्यक्षमा दुर्गा अर्याल, देवघाट गाउँपालिकाको उपाध्यक्षमा भुवनसिं गुरुङ, शुक्लागण्डकीको उपप्रमुखमा खुमबहादुर विक विजयी भएका छन् । ऋषिङ गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापा विजयी भएका छन् ।

शुक्लागण्डकीको प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी विजयी

शुक्लागण्डकी नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनले जीत हासिल गरेको छ । नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (माओवादी) केन्द्रका उम्मेदवारले विजय हासिल गरेका हुन् ।

नगरप्रमुखमा कांग्रेसका कृष्णराज पण्डित १२ हजार २६३ मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका मुक्तिनाथ तिमिल्सिनाले नौ हजार ८४० मत प्राप्त गरे ।

उपप्रमुखमा माओवादीका खुमबहादुर विक १० हजार २६२ मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका फूलमाया थापाले नौ हजार ९५७ मत प्राप्त गरेकी छन् ।

३८ हजार ३१५ मतदाता रहेको नगरपालिकाको निर्वाचनमा २५ हजार ९९७ मत खसेको थियो । बाह्र वडा रहेको शुक्लागण्डकीमा नेपाली कांग्रेसले नं १, २, ३, ४, ७, नेकपा एमालेले ५, ६, ८, ९, ११, १२ र नेकपा माओवादी केन्द्रले वडा नं १० जितेको छ ।

Leave a Reply

Your email address will not be published.