चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणनामा मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । ४० हजार ७१२ मत गणना हुँदा नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालले १५ हजार ४९१ मत पाएकी छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार ४११ मत पाएका छन् । दाहालले पाएको मत सुवेदीले पाएको भन्दा तीन हजार ८० ले बढी हो ।
मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ३८९ मत पाएका छन् । उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १७ हजार ९०५ मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपा उम्मेदवार हिमला गुरुङले नौ हजार ९७८ मत पाएकी छन् ।
भरतपुरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवारलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ । त्यस्तै नेकपा एमालेका उम्मेदवारलाई राप्रपाको समर्थन छ ।
टिकापुरको मेयरमा नागरिक उन्मुक्ति पार्टी विजयी
कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । मेयरमा रामलाल डगौरा थारु विजयी भएका हुन् ।
थारुले तीन दलीय गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका नवराज रावललाई पराजित गरे ।
उनले ९ हजार ६४२ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवराज रावलले ६ हजार ६४२ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा नागरिक उन्मुक्तिकी उल्कादेवी विकलाई हराउँदै गठबन्धनबाट उपप्रमुखका उम्मेदवार खडक शाह विजयी भएका छन् ।
शाहले सात हजार ९५५ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी विकले सात हजार ८०२ मत ल्याइन्। टीकापुरमा तीन वडामा माओवादी केन्द्र, तीनमा कांग्रेस, दुईमा नागरिक उन्मुक्ति पार्टी र एउटामा एमाले विजयी भएको छ ।
घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी
दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) विजयी भएको छ । मेयरमा नरुलाल चौधरी ३१ हजार ७२८ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का हेमराज शर्माले २६ हजार ३२८ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । चौधरी निवर्तमान नगरप्रमुख हुन् ।
उपमेयरमा एमालेकै हुमा डीसी ३० हजार ४०३ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भुपबहादुर डाँगीले ३० हजार ३५४ मत प्राप्त गरे ।
१९ वडामध्ये घोराहीमा वडा नं १, २, ३, ४, ५, ६, ८, ११, १२, १४ र १८ मा एमाले, वडा नं १०, १३, १५, १६ र १९ मा काँग्रेस तथा वडा नं ९ मा माओवादी केन्द्र विजयी भयो । उपमहानगरपालिकामा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ (६७.७६ प्रतिशत) मत खसेको थियो ।