चुनावकाे भाेट गनेर नसकिँदै, जनताको ढाड सक्दै सरकार, खाना पकाउने ग्यासमा २ सयले वृद्धि

काठमाडौं । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर रु १० र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु २०० वृद्धि गरेको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर रु १८०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर रु १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० पुगेको छ ।

निगमले यसअघि गत बैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो । स्थानीय तहको निर्वाचन सकिन नपाउँदै सरकारले जनताको ढाड सेकेको हो ।

वीरगञ्जमा राजेशमानको जित सुनिश्चित !

मधेस प्रदेशको एक मात्र महानगरपालिका बाराकाे वीरगञ्जमा पाँच दलीय गठबन्धनका उमेदवार जितको नजिक पुगेका छन् ।

पाँच दलीय गठबन्धनबाट प्रमुखका उमेदवार जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह र उपप्रमुखका उमेदवार कांग्रेसका इम्तियाज आलम जितको नजिक पुगेका हुन् ।

३२ वडा रहेको महानगरपालिकाका २९ वडाको ६९ हजार ४७५ मत गणना गर्दासम्म गठबन्धनका दुवै उमेदवारले लिएको अग्रता हेर्दा दुवै जनाको जित सुनिश्चितजस्तै छ ।

हालसम्म जसपाका राजेशमान एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धनबाट मेयरका उमेदवार विजयकुमार सरावगीभन्दा १६ हजार १११ मतले अगाडि छन् ।

सिंहले ३३ हजार ९१९ मत ल्याउँदा सरावगीले १७ हजार ८०८ मत प्राप्त गरेको वीरगञ्ज महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गिरीश गिरी भने २ हजार ५५३ मतमा सीमित छन् ।

उपप्रमुखमा पनि नेपाली कांग्रेसका इम्तियाज आलम फराकिलो मतान्तरले अगाडि छन् । हालसम्म भएको मत परिणामअनुसार लोसपाका पुरुषोत्तमलाल झाभन्दा आलम १७ हजार २९६ मतले अगाडि छन् ।

आलमले २३ हजार १६४ मत ल्याउँदा झाले ५ हजार ८६८ मत ल्याएका छन् । राप्रपाकी बिना जैसवाल कुर्मीको मत ४ हजार ४१० छ ।

लोसपाले टिकट नदिएपछि स्वतन्त्रबाट उमेदवारी दिएकी रम्भा मिश्राले ३ हजार ९५ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत जयराम काफ्लेले जानकारी दिए ।

काफ्लेकाअनुसार वीरगञ्जमा मेयरका लागि खसेको ६९ हजार ४७५ मतमध्ये ५४ हजार ५१६ मत सदर हुँदा १४ हजार ९५९ मत बदर भएको छ ।

उपप्रमुखमा ३७ हजार ७९ मत सदर हुँदा ३२ हजार ३९६ मत बदर भएको पर्साका प्रमुख निर्वाचन अधिकृत रंजिता झाले जानकारी दिइन् ।

जम्मा एक लाख २४ हजार ६४७ मतदाता रहेको वीरगञ्ज महानगरपालिकामा ९३ हजार २३६ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published.