७२९ स्थानीय तहको मतपरिणाम : ३२० स्थानीय तह जितेकाे कांग्रेस पहिलाे एमाले दाेस्राे पार्टी

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत ७२९ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । थप २२ स्थानमा मतगणना जारी छ ।

दुई स्थानीय तह उदयपुरको त्रियुगा र बाजुराको बुसिढगंगामा मतदानकै प्रक्रिया बाँकी रहेका कारण ती स्थानीय तहको मतपरिणाम अनिश्चित छ ।

मतपरिणाम सार्वजनिक भएका ७२९ पालिका माध्ये कांग्रेसले ३२० स्थानीय तह जितेर अग्रता कायम गरेको छ । थप ६ स्थानीय तहमा कांग्रेसले अग्रता कायम गरेको छ ।

१९९ स्थानीय तह जितेर नेकपा एमाले दोस्रो पार्टी बनेको छ । थप ६ स्थानीय तहमा एमालेले अग्रता कायम गरेको छ ।१२० स्थानीय तह जितेर तेस्रो पार्टी बनेको नेकपा माओवादी केन्द्रले थप २ स्थानीय तहमा अग्रता कायम गरेको छ ।

त्यसबाहेक २९ स्थानीय तह जितेर जनता समाजवादी पार्टी (जसपा) चौथो स्थानमा छ । उसले थप ३ स्थानीय तहमा अग्रता कायम गरेको छ ।

१७ स्थानीय तह जितेर भर्खरै स्थापित दल नेकपा एकीकृत समाजवादी पाँचौ दल भएको छ । उसले थप दुई स्थानीय तहमा अग्रता कायम गरेको छ ।

१५ स्थानीय तह जितेर छैटौं भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले थप एक स्थानीय तहमा अग्रता कायम गरिरहेको छ ।

यसैबीच, स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उमेदवारले अग्रता लिएका छन् ।

हालसम्म एक लाख २५ हजार ५२० मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उमेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ५० हजार ६९२ मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले)का प्रमुख पदका उमेदवार कृष्णबहादुर थापाले ४६ हजार ५८३ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ ५३ हजार १७३ मतसहित अघि छिन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उमेदवार कोपिला रानाभाटले ४९ हजार ५८६ मतसहित उनलाई पछ्याइरहेकी छन् ।

Leave a Reply

Your email address will not be published.