नेता/मन्त्री हुन् त प्रदीप ज्ञवाली जस्ता, पदबाट हट्नासाथ सार्वजनिक गरे सम्पति विवरण

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले परराष्ट्रमन्त्री पदबाट हट्नासाथ आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । शुक्रबार राति नै सामाजिक सञ्जाल फेसबुक मार्फत् ज्ञवालीले सवा तीन वर्ष मन्त्री रहँदाको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३,१४,९३०। र पारिश्रमिक बापत्को लेभी ६,२०,०००। गरी जम्मा ९,३४,९३०। पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१।१३ सरकारी कोषमा दाखिला भएको छ ।….’

यसबाहेक आफ्नो बैंक खातामा सात लाख ४१ हजार ७७५.६० रुपैयाँ बचत रहेको पनि उनले उल्लेख गरेका छन् । मन्त्री रहँदा दुई सय जति पुस्तक थपिनु बाहेक सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको ज्ञवालीले प्रष्ट पारेका छन् । ‘हाल मेरो खातामा ७,४१,७७५।६० बचत रहेको र केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बने लगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु ।, उनले लेखेका छन् ।

शनिबार बिहानै मन्त्री निवास छोड्ने जानकारी दिएका ज्ञवालीले शुक्रबार नै सवारी साधन र ल्यापटप बुझाएको उल्लेख गरेका छन् । उनले मन्त्री रहँदा साथसहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *