महानगरको फोहर व्यवस्थापनका लागि बालेनले बनाए आफ्नै संयोजकत्वमा कार्यदल

काठमाडाैं । काठमाडौँ महानगरपालिकाको फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न नगर प्रमुख बालेन्द्र शाहको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

कामपाको नवनिर्वाचित प्रमुख शाहको अध्यक्षतामा आज बसेको पहिलो कार्यपालिका बैठकले उपप्रमुखसहित पाँच जनाको अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी सार्वजनिक शौचालय सञ्चालनमा ल्याउने सम्बन्धमा होटल, रेष्टुराँ र पेट्रोल पम्पसँग पनि सहकार्य गर्ने निर्णय गरिएको छ ।

सहकार्य गरिने रेष्टुराँ र पेट्रोल पम्ममा कामपाले सङ्केत चिह्न राख्नेछ र ती स्थानका शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

त्यस्तै सडकका खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याइने भएको छ । तत्काल नगरवासीको गुनासो सम्बोधन गर्नका लागि कल सेन्टरको स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सडकका खाल्डाखुल्डी पुर्ने, ढल निकास नियमित गर्नेजस्ता काम सात दिनभित्र सक्नका लागि दुई भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने निर्णय गरिएको छ । कार्यपालिका बैठक मङ्गलबार १० बजे पुनः बस्नेछ ।

विपद् व्यवस्थापन कार्ययोजना बनाउन नगर प्रमुखको निर्देशन

वर्षायाममा हुन सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि नगरपालिकाको प्रभावकारीरूपमा विपद् व्यवस्थापन कार्ययोजना बनाउन चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले निर्देशन दिनुभएको छ ।

आज चाँगुनारायण नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा उहाँले नगर क्षेत्रमा विभिन्न प्राकृतिक प्रकोपको जोखिम रहेकाले विपद्बाट हुने क्षति कम गर्न र विपद् प्रभावितको तत्काल उद्धार एवं राहत पुग्ने गरी कार्ययोजना बनाउन उहाँले निर्देशन दिनुभयो ।

चाँगुनारायणका नागरिकको स्वास्थ्यका सन्दर्भमा कुनै कसर बाँकी नराख्ने र नगरपालिकाबाट प्रदान गरिने कामहरूलाई जनमैत्री बनाइने उहाँको भनाइ छ ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाको स्वास्थ्य शाखाप्रमुख सत्यकुमार दुवालले नगरपालिकाले महामारी नियन्त्रणका लागि काम गरिरहेको बताउनुभयो ।

‘ठमेलदेखि नयाँ बसपार्क क्षेत्रलाई व्यवस्थित बनाइने’

राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलदेखि नयाँ बसपार्क क्षेत्रलाई व्यवस्थित बनाइने भएको छ । काठमाडौँ महानगरपालिका–२६ का नवनिर्वाचित वडाध्यक्ष ख्यामराज तिवारीले आज पदभार ग्रहण गर्दै

उक्त क्षेत्रलाई व्यवस्थित र नमूना क्षेत्र बनाउने बताउनुभयो । “ठमेल घुम्न आएका विदेशी पर्यटकलाई नयाँ बसपार्क घुम्न जाने वातावरण निर्माणमा वडा लाग्नेछ”, उहाँले भन्नुभयो ।

दोस्रोपटक पुनः वडाध्यक्ष निर्वाचित हुनुभएका तिवारीले आफ्नो पहिलो कार्यकालमा ऐन, नीति, नियम निर्माण र वडा कार्यालयको भवन निर्माणमा बितेको भन्दै आगामी कार्यकालमा वडाभित्रका समस्या समाधानमा काम गर्ने बताउनुभयो ।

अघिल्लो कार्यकालमा वडा कार्यालय भवन निर्माण, लैनचौर खेल मैदान निर्माण, मल्ल होटलदेखि ठमेल क्षेत्रको बाटो चौडाइ, भगवानबहाल मन्दिर पुनःनिर्माण,

ठमेलेश्वर महादेव मन्दिरको भजन घर निर्माण, लैनचौरस्थित नारायण मन्दिर निर्माण, शान्ति विद्या गृह स्कुलको भवन पुनःनिर्माण र विभिन्न बाटोहरु कालोपत्र गरेको उहाँको भनाइ थियो ।

मेलम्ची खानेपानी आयोजनाको काम र विद्युत् प्राधिकरणको कामले गर्दा कतिपय बाटाहरू कालोपत्र रोकिएको भन्दै यसलाई समेत चाँडो सम्पन्न गरिने वडाध्यक्ष तिवारीले बताउनुभयो ।

वडाध्यक्ष तिवारीसँगै आजै वडा सदस्य बाबुकाजी महर्जन, प्रवेश श्रेष्ठ, शान्ता प्रजापति महर्जन र रुपा नेपालीले पनि वडा कार्यालय पुगेर आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।

सोही अवसरमा नेपाल महिला एकता समाजले वडाध्यक्ष तिवारीलगायत सम्पूर्ण नवनिर्वाचित जनप्रतिनिधिलाई भेटेर सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

भेटमा समाज काठमाडौँकी अध्यक्ष मणि लामाले सुरक्षित बसोबास, सुनिश्चित अधिकार र हिंसामुक्त समाज निर्माणका लागि वडाको ठूलो भूमिका रहेको बताउनुभयो । उहाँले महिला अधिकारका लागि काम गर्नसमेत वडालाई आग्रह गर्नुभयो ।

विसं २०५७ मा स्थापना भएको नेपाल महिला एकता समाजले महिला हक, हित र अधिकारका लागि काम गर्दै आइरहेको लामाको भनाइ छ ।

काठमाडौँ महानगरपालिका–२६ मा ठमेल, लैनचौर, गल्कोपाखा, सामाखुसी, म्हैपी, नयाँ बसपार्क, गोँगबु, टाउन प्लानिङ, रानीबारीलगायत क्षेत्रहरू पर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *