नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडाैं । विश्व बैंकले सन् २०२२/२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत बराबर मात्र रहने प्रक्षेपण सार्वजनिक गरेको छ ।

विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यसअघिको प्रक्षेपणभन्दा ०.२ प्रतिशत बिन्दुले अनुमान घटाएको हो ।

त्यस्तै अर्को वर्ष २०२३/२४ का लागि नेपालले ५.८ प्रतिशतको वृद्धिदर हासिल गर्ने विश्व बैंकको अनुमान छ । नेपालले भने आर्थिक वर्ष २०७८/७९ का लागि ५.८४ र आर्थिक वर्ष २०७९/८० का लागि ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।

सन् २०२२ का लागि दक्षिण एसियाली क्षेत्रमा ७.६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने यसअघिको प्रक्षेपणलाई ०.८ प्रतिशत बिन्दुले घटाएर ६.८ प्रतिशत कायम गरेको छ । आर्थिक वृद्धिदर घट्ने अनुमानका पछाडि बाह्य क्षेत्रलाई मुख्य कारण मानिएको छ ।

बढ्दै गएको चालु खाता घाटा, खाद्यान्न लगायत उपभोग्य सामग्रीको मूल्य वृद्धिजस्ता कारणहरुलाई चुनौतीका रुपमा हेरिएको छ ।

त्यस्तै कृषि क्षेत्रमा रासायनिक मलको अभाव, गहुँलगायत खाद्यान्न वस्तुहरुको आपूर्तिमा अवरोध, ऊर्जा संकटजस्ता कारणले आर्थिक वृद्धिदर कम हुने ठानिएको छ ।

राष्ट्रसंघको ७७ औं महासभाको उपाध्यक्षमा नेपाल निर्वाचित

संयुक्त राष्ट्र संघको ७७ औं महासभाको उपाध्यक्षमा नेपाल निर्वाचित भएको छ । न्यूयोर्कमा रहेको राष्ट्र संघको लागि नेपाल नियोगका अनुसार नेपाल उक्त पदमा बुधबार निर्वाचित भएको हो ।

नेपालले यसअघि पनि उक्त जिम्मेवारी सम्हालिसकेको छ । परराष्ट्र मन्त्रालयका अनुसार नेपाललाई बहुपक्षीयतामा सहभागिता बढाउने र राष्ट्रसंघलाई बढ्दो विश्वव्यापी समस्याहरुलाई समाधान गर्ने सम्मान र अवसर हो ।

यसपटक नेपाल एसिया प्रसान्त क्षेत्रबाट सर्वसम्मत निर्वाचित भएको हो । राष्ट्र संघका अनुसार हंगेरीका न्यूर्योकस्थित राष्ट्र संघका लागि नियोग प्रमुख साबा कोरोसी ७७ औं महासभाको अध्यक्षमा निर्वाचित भएका छन् । राष्ट्र संघको महासभा हरेक वर्ष सेप्टेम्बर १३ देखि २७ सम्म हुन्छ ।

 

Leave a Reply

Your email address will not be published.