फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडाैं । नेपाल आयल निगमले  फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। केही दिनअघि १० रुपैयाँका दरले घटाएको नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले पेट्रोलमा आठ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा १२ रुपैयाँका दरले मूल्य बढाएको छ। अब पेट्रोल प्रतिलिटर १७८ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १६५ पुगेको छ।

एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमका सह-प्रवक्ता पुष्कर कार्कीले जनाएका छन्। गत १५ दिनमा तीन अर्ब ८९ करोड घाटा लागेकाले मूल्य वृद्धि गर्नु परेको उनको भनाइ छ।

भारतलाई बेच्न थालियो बिजुली

गत शनिबारबाट भारतलाई बिजुली निर्यात गर्न थालेको नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनाको बिजुली पनि निर्यात गर्ने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर श्रेष्ठले बिहीबार रातिबाट ५२.४ मेगावाट उत्पादन क्षमताको लिखु–४ जलविद्युत् आयोजनाको बिजुली भारत बेच्न थालिएको बताए ।

ग्रिन भेन्चर्स लिमिटेडको लगानी रहेको लिखु–४ आयोजनाको बत्ती आज (शुक्रबार)बाट भारतीय जनताले उपभोग गरिसकेको हुने जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरणले वर्षा मौसममा भारतसँग सम्झौता भएअनुरूप ३ सय ६४ मेगावाट बिजुली निर्यात गर्ने भएको छ ।

यसअघि गत शनिबार नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १ सय ४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ‘ए’ विद्युतगृहबाट उत्पादित विद्युत् भारत निर्यात गर्न थालिएको थियो ।

प्राधिकरणले विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स)मा गत बिहीबारबाट त्रिशूली र देवीघाट जलविद्युगृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा करिब ३९ मेगावाट विद्युत् निर्यात गरिरहेको थियो ।

कालीगण्डकी र लिखुको पनि सुरु भएसँगै प्राधिकरणले ३ सय १२ मेगावाट विद्युत् भारत निर्यात हुनेछ । प्राधिकरणका अनुसार शुक्रबारसम्ममा कालीगण्डकी ‘ए’को १ सय ४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट, देवीघाटको १४.५ र लिखु ४ को ५२ मेगावाट विद्युत् भारत निर्यात हुनेछ ।

वर्षातसँगै नदीनालामा पानीको वहाव बढेर विद्युतगृह पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको ऊर्जालाई भारत निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार निर्यात भएका विद्युत्को औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ (७ भारु) रहेको छ ।

‘अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (१२ भारु), न्यूनतम २.३८ रुपैयाँ (१.४९ भारु) र औसत दर ११.२ रुपैयाँ (७ भारु) रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published.