काठमाडाैं । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही असार १५ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासनको बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले प्रतिशेयर रु १०० अङ्कित मूल्यका दरले नौ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेकामा दुई लाख ८१ हजार ७५० कित्ता मात्र बाँडफाँट भएको
र बाँकी छ लाख १८ हजार २५० कित्तासहित कूल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको सार्वजनिक आह्वान पत्रमा उल्लेख छ ।
कम्पनीले निष्कासन गर्ने कूल शेयरमध्ये ३९ हजार ३६५ कित्ता कर्मचारीहरु र ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ ।
त्यसमा बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता शेयरमा सर्वसाधारणले असार १९ सम्म आवेदन दिन पाउने तथा निष्कासनबमोजिम माग नआए ढिलोमा असार २९ गतेसम्म
कम्पनीको आइपिओ बिक्री खुला रहने छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा एक हजार कित्ताका शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।
आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले कास्कीको मादी गाउँपालिकामा रहेको मादी नदीको बहाव प्रयोग गरेर ११.८८ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी– आइआर बी प्लस’ ग्रेडिङ प्रदान गरेको छ ।
औद्योगिक क्षेत्रका लागि जग्गा नापी
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१ र देवचुली–१५ मा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्ति गर्न नापी सुरुआत गरिएको छ ।
लोकाहा क्षेत्रमा प्रादेशिक औद्योगिक क्षेत्र निर्माण गर्ने योजनाअनुसार अहिले पहिलो चरणमा क्षेत्रफल निर्धारण र औद्योगिक क्षेत्रका लागि जग्गा नापी सुरु गरिएको हो ।
लोकाहा क्षेत्रमा करिब १८० बिघा जग्गा रहेको र यो जग्गा औद्योगिक क्षेत्रको लागि छुट्याउन अहिले नापीको काम चलिरहेको नापी कार्यालय नवलपुरका नापी अधिकृत धर्मेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
अहिले यस क्षेत्रमा आठ कर्मचारी खटिएर जग्गाको नापी गरिरहेको उहाँले बताउनुभयो । औद्योगिक क्षेत्रका लागि भनिएको जग्गाको श्रेष्ता, फिल्डबुक नक्सा र पुर्जा तयार गरी सरकारको नाममा ल्याउने गरी काम चलिरहेको
नापी अधिकृत श्रेष्ठले बताउनुभयो । “अहिले नेपाल सरकारको नाममा जग्गा प्राप्तिका लागि नापीको काम चलिरहेको छ, करिब दुई हप्तामा नापीको काम सक्छौँ”, उहाँले भन्नुभयो ।
गण्डकी प्रदेशकै तराईको जिल्लाका रूपमा रहेको नवलपुरमा अहिले पनि उल्लेख्य राजस्व सङ्कलन हुने गरेकाले यसलाई थप व्यवस्थित बनाउन,
औद्योगिक जिल्लाका रूपमा विकास गर्न औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरेअनुसार काम अघि बढेको नवलपुर क्षेत्र नं २ का सङ्घीय सांसद तिलक महतले बताउनुभयो ।
गण्डकी प्रदेशको प्रादेशिक औद्योगिक क्षेत्रका रूपमा यसलाई अगाडि बढाउँदै जाँदा जिल्लामा रोजगार, उद्यमशीलता थप बढ्ने उहाँको भनाई थियो ।
उद्योग स्थापनाको वातावरण बनाउनसमेत यस योजनाले सहयोग पुग्ने र ठूला उद्योगसमेत आउने हुँदा समग्र अर्थतन्त्र मजबुत बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।
“देशको मध्यभाग, पूर्व–पश्चिम राजमार्गसँग जोडिएको, भारतीय सीमामा नजिक रहेकाले यहाँ थप ठूला उद्योग आकर्षित छन्, औद्योगिक क्षेत्र स्थापनाले झनै उद्योग स्थापनालाई सहज बनाउनेछ”,
सांसद महतले भन्नुभयो, “यसले नवलपुरमात्रै नभई, गण्डकी प्रदेश र समग्र देशको अर्थतन्त्र मजबुत बनाउन सहयोग पु¥याउने छ ।”
जग्गा नापीको काम सम्पन्न भएपछि यसको विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) तयारसहित थप कार्यहरू अगाडि बढ्ने उहाँले बताउनुभयो ।
लोकाहामा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्रका लागि हालै मात्र गण्डकी प्रदेश सरकारले बजेटसमेत विनियोजन गरेको छ ।