एकीकृत समाजवादीका मन्त्री हेरफेर, कसले कुन मन्त्रालय पाए ?

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा नेकपा (एकीकृत समाजवादी)का मन्त्री हेरफेर गरेकी छन्।

राष्ट्रपति भण्डारीले चार जना मन्त्री र एक जना राज्यमन्त्री हेरफेर गरेकी हुन्। एकीकृत समाजवादीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, शहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भवानी खापुङ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शेरबहादुर कुँवर आएका छन्।

त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

यसअघि एकीकृत समाजवादीबाट विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, रामकुमारी झाँक्री शहरी विकास र कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री थिए। उनीहरूलाई फिर्ता बोलाइएको हो।

त्यस्तै, एकीकृत समाजवादीबाट सरकारमा सहभागी कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्दप्रसाद शर्मा (गोविन्द बन्दी)लाई भने यथावत् राखिएको छ।

राजीनामा दिएपछि गरिएको पत्रकार सम्मेलनमा शहरी विकासमन्त्री रामकुमारी झाँक्री निकै भावुक बनेकी छन् ।अत्यन्तै भावुक बनेकाले उनले पत्रकारसँग खुलेर बोल्न पनि सकिनन् ।

सम्मेलनमा कर्मचारीले मन्त्रालयको कार्य विवरण बुझाएका थिए । उनीहरुले ‘फेरि भेटौंला’ भन्दै मन्त्री झाँक्रीको विदाइ गरेका थिए । झाँक्री सुरुदेखि भावविव्हल हुँदै आफू बोल्न सक्ने अवस्थामा समेत नरहेको बताइन् ।

पत्रकारको तर्फबाट दुईवटा मात्रै प्रश्न गर्न उनले आग्रह गरिन् । तर, पहिलो प्रश्नमै उनी रुन थालिन् । एक पत्रकारले किन भावुक हुनुभएको भनेर सोधेको प्रश्नले उनी झन् विह्वल बनिन् । प्रश्न सुन्नासाथ उनी बरबर आँसु झार्न थालिन् । बरु रिस उठ्ने प्रश्न सोध्न आग्रह गरिन् ।

कार्यक्रममा झाँक्री निकै भावुक बनिन् । मन्त्रालयका कर्मचारीले ८ महिना २० दिनमा गरेको कामको फेहरिस्त सुनाउँदा निरन्तर आँशु झारिरहिन् । उनले सञ्चारकर्मीको प्रश्न लिइन्, तर असहज भएको भन्दै जवाफ दिइननन् ।

छोटो प्रतिक्रिया दिएकी एकीकृत समाजवादीकी सचिव समेत रहेकी झाँक्रीले गत चैतमा नै मन्त्री फेर्न चाहेको थाहा पाएपछि पूर्व जानकारी दिन आग्रह गरेको बताइन् ।

तर चुनाव समीक्षाका लागि बोलाएको बैठकले मन्त्री फेर्ने निर्णय गरेको र सञ्चार माध्यमबाट थाहा पाउनु परेको गुनासो गरिन् । भोलिपल्ट प्रधानमन्त्रीलाई भेटेर के गर्ने भनेर सोधेको र बजेटसम्म काम गर्नु भनेको भन्दै झाँक्रीले भनिन्, ‘आफूले बनाएको बजेटको बचाउ गर्ने रहर थियो । आफूले गरेको काम भन्ने र स्थापित गर्ने रहर थियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *