२४ वर्षपछि फेरि वामदेवको आफ्नै पार्टी, नाम ‘नेकपा एकता राष्ट्रिय अभियान’

काठमाडौं। लगभग २४ वर्षपछि वामदेव गौतम पुनः आफ्नो छुट्टै राजनीतिक पार्टी गठन गर्ने अवस्थामा आइपुगेका छन्। गाैतमले मंगलबार पत्रकार सम्मेलन गर्दै नेकपा एकता राष्ट्रिय अभियान पार्टी नामक नयाँ पार्टीकाे घाेषणा गरेका हुन्।

२०५५ सालमा उनले एमाले फोडेर नेकपा माले गठन गरेका थिए। तर, २०५६ निर्वाचनमा एक सिट पनि जित्न नसकेपछि उनी पुनः एमाले फर्किएका थिए। अहिले फेरि चुनावको मुखमा उनले आफू संयोजक बसेर नयाँ पार्टी गठन गरेका हुन्।

बहुपदीय संगठन संरचना 

पार्टीको संगठन संरचना बहुपदीय भनिएको छ । सात जना उपाध्यक्ष रहने भनिएको छ । संयोजक गौतमले पार्टी बहुपदीय पद्धतिमा जाने बताए । उनको घोषणा अनुसार एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्ज बन्नेगरि ७ जना उपाध्यक्ष र एकजना महासचिव हुनेछन् ।

एकजना उपमहासचिव, एक उपमहासचिव र एकजना सचिवको व्यवस्था रहने संयोजक गौतमले बताए । उनका अनुसार दैनिक कामकाजका लागि १५ सदस्यीय स्थायी कमिटी हुनेछ ।

पार्टी घोषणा गर्दा पदाधिकारी भने उनले खुलाएनन् । गौतम संयोजक रहेको सचिवालय निर्माण र त्यसले अरु दलहरुसँग वार्ताका लागि समन्वय गर्ने कुरा टुंगिएको छ ।

पार्टीमा १५ जना स्थायी कमिटी सदस्य छन्। गत वर्ष सर्वोच्च अदालतले नेकपा विघटन गर्दै नेकपालाई छुट्टयाइ दिएपछि वामदेव तटस्थ बस्दै आइरहेका थिए। हाल उनी राष्ट्रिय सभाका मनोनित सदस्य हुन्।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर लडेको गत प्रतिनिधि सभा चुनावमा उनी बर्दियाबाट पराजित भएका थिए। पराजित वामदेवलाई पछि पार्टीले राष्ट्रिय सभामा मनोनित गरेको थियो।

गौतमले पार्टी गठन गर्नुअघि नेकपा एमाले र नेकपा माओवादी छुट्टिनुमा कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोषी भएको बताएका थिए। उनले केपी ओलीको कार्यशैली पनि ठिक नभएको भन्दै आलोचना गरेका थिए। उनले पार्टीलाई एक ढिक्का राख्न आफूले प्रयास गरेको तर दुवै पक्षले विश्वास नगरेको बताएका थिए।

प्रदेश तथा प्रतिनिधि सभाको चुनाव नजिकिँदै गर्दा गौतमले खोलेको पार्टीले कस्तो कमाल गर्ने हो, त्यो राजनीतिक बृत्तमा चर्चाको विषय बनेको छ।

Leave a Reply

Your email address will not be published.