उपप्रधानमन्त्री महतोले सच्याए विवादास्पद अभिव्यक्ति (विज्ञप्तिसहित)

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको बताएका छन्। मन्त्री भएलगत्तै शुक्रबार कार्यभार सम्हाल्दै उनले बहुल राज्यको कुरा उठाएका थिए।

मन्त्री महतोको भनाइलाई लिएर चौतर्फी आलोचना भएको थियो। गए राति मन्त्री महतोले प्रेस विज्ञप्ति निकालेर आफ्ना भनाइ बङ्ग्याएर र गलत अर्थ लाग्ने गरी प्रचारप्रसार भएकोमा ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

महतोले आफ्नो अभिव्यक्तिलाई बङ्ग्याएर गलत प्रचार गरिएको दाबीसमेत गरेका छन्। राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै महतोले यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनि स्पष्ट पारेका छन्।

उनले विज्ञप्तिमा भनेका छन्, ‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ।’

Leave a Reply

Your email address will not be published.