संसदमा गगन थापाकाे कटाक्ष : गभर्नरलाई भनेको हो, मिस्टर एम अधिकारीलाई होइन !

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आउँदो मौद्रिक नीति तरलताको अभाव, घट्दो सञ्चिति, बढ्दो मूल्यवृद्धि र मागमा संकुचनका विषय सामना गर्ने गरी ल्याउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले सेयर बजारमा सुधार गर्न ल्याइएको चार बारको नीति ठूलालाई पोस्ने र सानालाई कस्ने भएको बताए । त्यसलाई नसच्याए सेयरमा लगानी गर्ने साना लगानीकर्ता सडकमा आइपुग्ने उनको भनाइ छ ।

थापाले आफ्नो कुरा गभर्नरलाई भनेको भन्दै कटाक्ष समेत गरे । “राष्ट्र बैंकले जे सोचेको भए पनि अपेक्षाअनुसार त्यो परिणाम नआइसकेपछि अब त्यसानुसार यसलाई सच्याउनुपर्छ । यसलाई हटाइएन भने लाखौँ सेयरमा लगानी गरेका साना सेयरकर्ता सडकमा आइपुग्छन्,”

उनले भने, “मैले गरेको सम्पूर्ण अनुरोध नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को अर्थ तथा योजना विभागका सदस्य मिस्टर एम अधिकारीले मलाई भनेको हो कि भनेर बुझ्नुभएमा क्षमा चाहन्छु !”

उपसभामुखको निर्वाचन पर्सि हुने

प्रतिनिधि सभाको उपसभामुख चयनका लागि असार ३१ गते निर्वाचन हुने भएको छ। प्रतिनिधि सभाको असार २९ गतेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचन तालिका सार्वजनिक गरेका हुन। जसअनुसार असार ३० गते मनोनयन दर्ता र ३१ गते मतदान हुने भएको छ।

कृष्णबहादुर महराले राजीनामा दिएपछि सापकोटा सभामुख बनेका थिए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सापकोटालाई सभाुख बनाउन शिवमाया तुम्वाहाङ्फेलाई राजीनामा दिन निर्देशन दिएको थियो।

उपसभामुख पद लामो समयदेखि रिक्त छ । संविधानअनुसार एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाइने हुँदा शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएकी थिइन् । उनकाे राजीनामापछि नयाँ उपसभामुख चयन हुन सकेकाे थिएन ।

अहिले सभामुख माओवादीबाट भएका कारण उपसभामुख माओवादीबाहेकका दलबाट चुनिनेछ ।

Leave a Reply

Your email address will not be published.