काठमाडौं । ‘नेपाल आदिवासी जनजाति महासंघ’ले आदिवासी राउटे समुदायका दुई युवतीहरूमाथि भएको दुर्व्यहारको घोर भत्सर्ना गरेको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै महासंघले जुनसुकै हिंसा मानवअधिकार विरोधी कार्य हो भन्दै यौन हिंसालाई चरम मानवअपराध ठहर गरेको छ ।
‘घटनामा संलग्न होटल सञ्चालक गुर्भाकोट नगरपालिकाका विनोद पुन तथा चमन घर्ती (जोगी) र भुपेन्द्र बुढामाथि तत्काल अनुसन्धान गरी कानूनबमोजिम कडा कार्बाही अगाडि बढाउन राज्यका सम्पूर्ण निकायहरूलाई महासंघ जोड्दार आग्रह गर्दछ’, अध्यक्ष जगतबहादुर बरामद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
साथै संस्थाले मञ्जुरी र स्वीकृतिबिना सार्वजनिक भएका भिडियो तथा तस्विरहरूलाई सरकारको सम्बन्धित संयन्त्रले सिस्टमबमोजिम हटाउन समेत माग गरेको छ ।