‘न्यौपानेको अनुभव निजमती सेवाका लागि प्रेरणा’

काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने उमेर हदका कारण आजदेखि सेवाबाट अनिवार्य अवकाश हुनुभएको छ ।

खरिदारदेखि सचिवसम्म २६ वर्ष दुई महिना निजामती सेवामा बिताउनुभएका सचिव न्यौपाने बुधबारदेखि सेवाबाट अवकाश हुनुभएको हो ।

मन्त्रालयमा आज आयोजित बिदाइ कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयको जिम्मेवारीमा छोटो अवधिमा काम गर्दा हार्दिकतापूर्ण रहेको उल्लेख गर्दै न्यौपानेको अनुभव र अनुभूतिहरु

निजामती सेवाका लागि प्रेरणाको स्रोत हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सचिव न्यौपानेको योग्यता क्षमतालाई देश विकासका लागि फेरि पनि उपयोग गरिने बताउनुभयो ।

सचिव न्यौपानेले निजामती सेवाबाट आफ्नो अवकाश जीवनको अर्को ‘टर्निङ प्वाइन्ट’ भएको भन्दै अवकाशपछिको जीवनलाई थप सक्रिय बनाउने बताउनुभयो । सचिव न्यौपानेले विभिन्न मन्त्रालय, महत्वपूर्ण निकायमा नेतृत्व गर्नुभयो ।

पर्यटन मन्त्रालयमा करिब आठ महिना सचिवको रुपमा काम गर्नुभयो । न्यौपाने सचिव पदको पाँचवर्षे सेवा अवधिबाट अवकाश लिनुभएको हो । उहाँको अवकाशपछि मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछानेलाई निमित्त सचिवको जिम्मेवारी दिइएको छ ।

पत्रकार, विद्यार्थी र ज्येष्ठ नागरिकलाई नगरबसमा ५० प्रतिशत छुट

डोटीकाे दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन गरेको नगरबसमा यात्रा गर्ने पत्रकार, ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशतसम्म भाडा छुट दिने निर्णय गरेको छ ।

नगरबसमा यात्रा गर्ने ६८ वर्षमाथिका पालिकाले वितरण गरेको क, ख र ग वर्गमा परेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, पत्रकार र विद्यार्थीलाई तोकिएको भाडादरमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

नगरबसमा छुट सुविधा लिने व्यक्तिले यात्रा गर्दा आफ्नो परिचयपत्र अनिवार्य देखाउनुपर्ने नगरप्रमुख बाजीसिंह खड्काले जानकारी दिनुभयो । नगरपालिकाले नगरबसमा यात्रा गर्नेलाई ५० प्रतिशत छुट दिने निर्णय गरेपछि यहाँका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विद्यार्थी निकै खुसी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *