काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) बाट निस्कासनमा परेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले निर्वाचन आयोगमा आफ्नो नयाँ नेपाल समाजवादी पार्टी दर्ता गराएका छन्।
जसपामा प्रवेश गर्नुअघि उनले जनशक्ति पार्टीको नामबाट आफ्नो छुट्टै राजनीतिक पार्टी दर्ता गराएका थिए। तर, त्यसले चुनावमा खासै राम्रो गर्न नसकेपछि उनी जसपामा प्रवेश गरेका थिए।
यसपालि उनी समावेशी लोकतान्त्रिक पार्टीको नामबाट नयाँ पार्टी दर्ता गराउने अभियानमा थिए। तर, आफू निकट पूर्व विधार्थी नेता दीपक लामिछानेको नामबाट यो पार्टी दर्ता भएका कारण निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टीको नाममा दर्ता गराएका हुन्।
पूर्व प्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालबीच एउटै राजनीतिक मोर्चा बनाउने विषयमा वार्ता भइरहेको बेला बाबुरामले छुट्टै पार्टी दर्ता गरेका हुन्।
निर्वाचन आयोगले भट्टराई समूहको आग्रहमा यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइदिएको हो ।
भट्टराई समूहका नेता विश्वदीप पाण्डेले निर्वाचन आयोगले समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी र चुनाव चिह्न आँखालाई अद्यावधिक गरेको बताए ।
नयाँ पार्टीको चुनाव चिन्ह एउटा आँखा राखिएको छ। यो चुनाव चिन्ह नयाँ शक्तिको थियो। खुलेको एक आँखा चुनाव चिन्ह राखेर लामिछानेले समावेशी लोकतान्त्रिक पार्टी आयोगमा दर्ता गरेका थिए।
अब यो पार्टीको केन्द्रीय समिति बैठक बसेर पदाधिकारी चयन गर्नेछ । त्यतिबेला मात्र भट्टराईसहितका नेताहरु यो पार्टीमा औपचारिक रुपमा रहने उनीनिकट नेताहरु बताउँछन् ।