देउवाकै नेतृत्वमा मंसिर ४ मा आमनिर्वाचन, प्रतिनिधिसभा स्वत: निष्क्रिय !

काठमाडौं। प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते हुने भएको छ। मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्ने आज निर्णय गरेको हो।

निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले सो निर्णय गरेको हो।

हिजो बुधबार पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले मंसिर ४ गते निर्वाचन गर्ने सहमति गर्दै मिति तोक्न सरकारलाई सुझाव दिएको थियो। निर्वाचनको मिति घोषणासँगै प्रतिनिधिसभा स्वत निस्क्रिय हुने प्रचलन छ।

करिब पाँच वर्ष अघि निर्वाचित प्रतिनिधिसभा दुइपटक विघटनको सिफारिस भएको थियो। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अप्ठेरो आईपरेपछि कुनै बलियो राजनीतिक आधारबिना नै प्रतिनिधिसभाको बिघटन गर्न सिफारिस गरेका थिए।

तर सर्बोच्च अदालतले दुवै सिफारिस खारेज गर्दै दोस्रो पल्ट त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्री तोकेर राजनीतिक निकास दिएको थियो।

पाँच दलीय गठबन्धनका नेता देउवा नेतृत्वको सरकारले आगामी निर्वाचनको मिति तोकेको हो। कांग्रेस सभापति देउवाकै नेतृत्वमा संसदीय निर्वाचन हुने निश्चित भएको छ।

सरकारले घोषणा गरेको मितिमा निर्वाचन सम्पन्न गर्न आफूहरू तयार रहेको निर्वाचन आयोगले जनाएको छ।

मन्त्रिपरिषद् बैठकले ४ मंसीरका लागि निर्वाचन मिति तोके लगत्तै आयोगले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “निर्वाचनका लागि हामीले १०७ दिन पाएका छौं, जुन पर्याप्त छ।”

आयोगले आन्तरिक तयारी जारी राखेकाले चुनाव सम्पन्न गर्न कठिन नहुने पौडेलको भनाइ छ। सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि ४ मंसीरमा चुनाव गर्ने निर्णय गरेको छ।

संसदीय चुनावको उम्मेदवारी दर्ता दशैं लगत्तै 

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको उम्मेदवारी दर्ता दशैं लगत्तै गर्ने तयारी गरेको छ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बिहीबार पत्रकार सम्मेलन गरी दशैंपछि उम्मेदवारी दर्ता गर्ने तयारी भएको बताए। थपलियाले भने, “दशैं लगत्तै उम्मेदवारी दर्ता गर्ने गरी तयारी अघि बढाएका छौं।”

यो वर्ष असोज १९ गते विजया दशमी परेको छ। सरकारले आगामी मंसीर ४ गते निर्वाचन मिति घोषणा गरेको छ।

Leave a Reply

Your email address will not be published.