म्यादी प्रहरीको भर्ना फेरि खुल्ने, के-के चाहिन्छ म्यादी बन्न ?

काठमाडौं । मंसिर ४ गते हुने आम चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउने भएको हो ।

गएको वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो । स्थानीय तहको निर्वाचन सम्पन्न भएको ठिक ६ महिनापछि आवधिक निर्वाचन हुन लागेको छ ।

सुरक्षा योजनालाई केन्द्रीय सुरक्षा समितिले स्वीकृत गरेपछि लागू हुन्छ । चुनावमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार घेराको सुरक्षा व्यवस्था रहन्छ । म्यादी प्रहरीले प्रहरीको प्रत्यक्ष मातहतमा रहेर काम गर्छ ।

मंसिरमा हुने निर्वाचनका लागि पुराना म्यादी प्रहरीलाई निरन्तरता दिनु उपयुक्त वा नयाँ नै भर्ना गर्ने भन्नेबारे छलफल सुरु भएको छ । गृहमन्त्रालयले स्थानीय तह निर्वाचनमा उत्कृष्ट काम गरेकाहरुको रेकर्ड राखेको छ ।

पुरानालाई प्राथमिकता दिने योजना समेत गृहले बनाएको बुझिएकाे छ । अर्थ मन्त्रालयको स्वीकृती लिएर प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीमा भर्ना लिन्छ । बजेट निकासाका लागि भर्ना आह्वान गर्नुअघि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य हुन्छ ।

प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले स्थानीय निर्वाचनमा खटिएका म्यादीलाई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा निरन्तरता दिँदा उपयुक्त हुने बताए । पुराना म्यादी प्रहरीसँग स्थानीय निर्वाचनमा ४० दिन ड्युटी र तालिम गरेको अनुभव छ, त्यस कारण उनीहरुलाई छान्नु राम्रो हुने उनको भनाई छ ।

२०७९ वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनका लागी म्यादीमा भर्ना हुन २ लाख ९३ हजार ३१४ जनाले आवेदन दिएका थिए । म्यादी प्रहरीमा भर्ना हुन पूर्व प्रहरी भन्दा पूर्व सैनिकहरु बढी आकर्षित भएका थिए ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार त्यसबेला २ हजार ५४८ जना पूर्व सैनिकले म्यादीमा भर्ना हुन आवेदन दिए । आवेदन बुझाउनेमा ११ जना पूर्व महिला सैनिक थिए । पूर्व प्रहरीबाट १ हजार ४४७ जनाले आवेदन दिए । बाँकी नयाँ युवा युवतिले आवेदन दिएका थिए ।

के-के चाहिन्छ म्यादी बन्न ?

म्यादीमा भर्ना हुन दरखास्त दिएकाले एकजना प्रहरी जवान बराबरको शारीरिक योग्यता पुरा गर्नुपर्छ । पुरुषको उचाइ ५ फिट २ इन्च र महिलाको उचाइ कम्तीमा ५ फिट हुनुपर्छ । पुरुषको तौल ५० किलो र महिलाको तौला ४८ किलो हुनुपर्छ ।

स्थानीय चुनावमा म्यादीमा छनोट गर्दा प्रहरीले पुसअप र चिनअप पनि गराएको थियो । तोकिएको समयमा १ किलोमिटर दौड पुरा गर्नुपर्छ । ४० वर्षभन्दा कम उमेरकाहरुले ५ मिनेटमा दौड पुरा गर्नुपर्छ भने सो भन्दा माथिको उमेर समूहकाले ७ मिनेटमा दौड पुरा गर्नुपर्छ ।

मेडिकल परीक्षण गर्दा रतन्धो भएका र ट्याटु खोपेका उम्मेदवार छनोट चरणबाटै बाहिरिन्छन् । बोली स्पष्ट नभएका र बेरिङ परीक्षणमा फेल हुनेहरू छनोट चरणबाट बाहिरिन्छन् । ‘बेरिङ’ भन्नाले खुट्टाको नशा नफुलेको र जवानमा भर्ना हुन आवश्यक छातीको लम्बाइ लगायतका शारीरिक कुरा बुझिन्छ । दुईभन्दा बढी दाँत किराले खाएकालाई पनि छनोट हुन गाह्रो पर्छ ।

म्यादी प्रहरीमा भर्ना हुन लिखित परीक्षा दिनु पर्दैन भने स्थानीय तह निर्वाचनअघि पारित कार्यविधि अनुसार मेडिकल परीक्षण र दौडमा पास भएपछि अन्तर्वार्ता लिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *