हाम्रै नेपालमा : जब मुख्यमन्त्रीलाई सारीचुरा, पेटीकोट उपहार दिन स्थानीय पुगे … !

जनकपुरधाम । चुरे संरक्षणको माग गर्दै जनकपुरधाममा विगत १७ दिनदेखि रिले अनसन गर्दै आएका स्थानीयहरुले शुक्रबार दिउँसो सारी, ब्लाउज, चुरा, पेटीकोट लिएर मुख्यमन्त्री कार्यालय पुगे ।

चुरे तथा वनजंगल संरक्षणको माग गर्दा प्रदेश सरकारले वास्ता नगरेको भन्दै स्थानीय अभियानकर्ताले सांकेतिक विरोध गर्न मुख्यमन्त्री कार्यालय पुगेका थिए ।

तर, मुख्यमन्त्री कार्यालयमा प्रवेश गर्न खोज्दा प्रहरीले बाटो छेकेर सुरक्षामा कडाई गरेपछि अभियानकर्ताले सडकमै सो सामग्री फालेर बिरोध प्रदर्शन गरे ।

पटक पटक आन्दोलन गरे पनि सरकारले कुनै सुनुवाई नगर्दा सरकारका मन्त्रीहरुलाई चुरा, सारी, ब्लाउज र पेटीकोट प्रदान गर्न आफूहरु त्यहाँ पुगेको अभियानकर्ताहरु बताउँछन् ।

त्यसैगरी साउन २२ गते बच्चा आन्दोलनको घोषणा गरिएको छ । भुमिहीन सुकुम्वासीहरु घरबारविहीन रहेको र उनीहरुको बालबच्चाको भविष्य अन्धकारमा रहेको कुरा सरकारले बुझेर पनि अबुझ बनेकाले मुख्यमन्त्री कार्यालय अगाडि बालबालिकालाई राखेर प्रदर्शन गर्ने संयोजक यादवले बताए ।

यी दुबै दिनको विरोधपश्चात पनि सरकारले कुनै चासो नदेखाए मधेस आन्दोलनभन्दा पनि ठूलो र अन्तिम आन्दोलन हुने संयोजक यादवले चेतावनी दिए ।

यसअघि पनि प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँदै पटक–पटक ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर आफूहरु सरकारविरुद्ध प्रदर्शनमा उत्रेको उनीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.