नेपालमा भेटियो नयाँ प्रजातिको छेपारो

काठमाडाैं । नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ। पूर्वी नेपालको मोरङको मिक्लाजुङ गाउँपालिका अन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा नयाँ प्रजातिको छेपारो फेला परेको हो।

यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो। ‘लेसरटिडे’ परिवार अन्तर्गत पर्ने यो छेपारोको नयाँ प्रजाति फेला परेसँगै नेपालमा अब छेपारो प्रजातिको सङ्ख्या ४१ पुगेको छ। परिवार पनि थपिएको छ।

संरक्षणकर्मी विवेक गौतम, सन्तोष भट्टराई र रामचन्द्र कँडेल सम्मिलित टोलीले अनुसन्धानमा नयाँ प्रजाति फेला परेको पुष्टि गरेको हो। “यो छेपारो रेकर्ड भएसँगै नेपालमा पाइने छेपारोको परिवार समेत ६ बाट सात पुगेको छ”, नेपाल कन्जर्भेसन एन्ड रिसर्च सेन्टरका सरीसृप अध्येता भट्टराईले बताए।

उनी हाल फेडेरेशन विश्वविद्यालय अस्ट्रेलियामा नेपालका उभयचर र सरीसृप प्रजातिबारे विद्यावारिधि समेत गर्दै छन्। यसबारे खास अध्ययन नभएकाले अबका दिनमा यसका गतिविधि सहित सबै आयामबारे अध्ययन गरिने पनि उनको भनाइ छ।

विश्वमा ‘ट्याकीड्रोमस’ छेपारोका २४ प्रजाति फेला परेका छन्। नेपालमा भेटिएको ‘सिक्किम छेपारो’ भने नेपाल र भारतको सिक्किममा मात्र पाइन्छ। त्यसैले यसको नाम सिक्किम छेपारो भनिएको हो।

यो संसारमा सबैभन्दा पहिले सन् १८८८ मा सिक्किममा फेला परेको थियो। त्यसैले ‘सिक्किमेन्सिस’ भनेर नामकरण गरिएको यो छेपारो प्रजाति, दोस्रो पटक १२१ वर्षपछि सन् २००९ मा सिक्किममै फेला परेको थियो।

जैविक विविधता अनुसन्धानका क्रममा शुरूमा मोरङको मिक्लाजुङ क्षेत्रको जङ्गलमा पाइएको यो छेपारो पछिल्लो समयमा पाँचथर र इलामको चुलाचुली क्षेत्रमा समेत फेला परेको जैविक विविधता अनुसन्धान तथा संरक्षण समाजका अनुसन्धानकर्ता विवेक गौतमले जानकारी दिए। नियमित पानी छेपारोको अनुसन्धान गर्ने क्रममा त्यही आसपासको भूभाग हेरौं भनेर लाग्दा आफूले नयाँ छेपारो फेला पारेको उनले बताए।

“शुरूमा अलि लामो पुच्छर भएको छेपारो देख्यौं, त्यो वेला समाउन सकेनौं, फोटोबाट हेर्न गाह्रो हुन्छ, त्यस दिन बसेर खोज्यौं, अर्को दिन चाहिं फेरि फेला पार्‍यौं र नापजाँच गर्‍यौं,” गौतमले सुनाए,

“अध्येता सन्तोष सर (सन्तोष भट्टराई) लाई जानकारी गराएँ, हामीले त्यसको एक हप्तामै अड्कल चाहिं काटिसकेका थियौं, अहिले जर्नलमै आयो, फेमिली नै नयाँ, प्रजाति नै नयाँ फेला पारी संरक्षणमा योगदान दिन पाइयो, खुशी छौं।”

 

शरीरको माथिल्लो भागको रङ खैरो तथा चिउँडो र छातीको भाग हल्का हरियो–पहेंलो रङ हुने यो छेपारो करीब चार सेन्टिमिटर लामो तथा पुच्छर शरीरभन्दा तीन गुणा बढी लामो हुन्छ। यो प्रजाति कटुस, चिलाउने र उत्तिस मिश्रित जङ्गलमा भेटिएको थियो। नेपालमा सन् २०२१ को सेप्टेम्बरमा फेला परेको उक्त छेपारोबारे युरोपियन जर्नल हेर्पेटोजोआमा सोमबार प्रकाशित भएको छ।

चुरे क्षेत्रका अनुसन्धानकर्मीहरूको नजरमा समेत ओझेलमा परेको क्षेत्र भएकाले सघन र नियमित अनुसन्धान गर्ने हो भने थुप्रै नयाँ प्रजाति भेटिने सम्भावना रहेको भट्टराई बताउँछन्। उनका अनुसार, यसअघि विगतमा राष्ट्रिय प्रकृति संरक्षण कोषले गरेको अध्ययनमा समेत विभिन्न नयाँ प्रजाति भेटिएका थिए।

नेपालमा हालसालै मात्र फेला परेको भए पनि यो प्रजातिको वासस्थानको निरन्तर विनाश, क्षयीकरण र जलवायु परिवर्तनले विश्व संरक्षण संघ (आईयूसीएन)को रातो किताबमा ‘सङ्कटापन्न’ सूचीमा राखिएको छ। नेपालमा तीव्र दरमा भइरहेको चुरे दोहन र वासस्थानको विनाशले यो प्रजातिमा कस्तो असर परिरहेको छ भन्ने कुराको विस्तृत अध्ययन हुन बाँकी छ।

चुरे क्षेत्रमा अत्यधिक मानवीय गति बढेको, वासस्थान विनाश, ढुङ्गा–गिट्टी बालुवाको अत्यधिक दोहनले गर्दा यस्ता थुप्रै प्रजाति नेपालमा फेला पर्नुअघि नै लोप हुन सक्ने खतरा रहेको संरक्षणकर्मीहरू बताउँछन्। -रासस

Leave a Reply

Your email address will not be published.