सुनको भाउ बढ्याे, ताेलाकाे कति ?

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु सात सयले बढेर रु ९७ हजार तीन सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार छ सयमा कारोबार भएका थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार एक सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला रु एक हजार दुई सय २५ कायम रहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासङ्घले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

भएन बजार अनुगमन

बैतडी । सुदूरपश्चिमको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकिएसँगै यहाँका मुख्य बजारमा किनमेलको भीड लाग्न थालेको छ । बजारका पसलको अनुगमन भने हुन सकेको छैन् ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नियमित रुपमा प्रत्येक महिना अनुगमन गर्ने भनिए पनि दुई महिनासम्म पनि यहाँ अनुगमन हुन नसकेको हो ।

बजारमा अनियमिता हुन नदिने गर्ने उद्देश्यले गरिने अनुगमन गत जेठ देखि हुनसकेको छैन् । चाडपर्व नजिकिएका बेलामासमेत बजार अनुगमन नहुँदा कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेको उपभोक्ताको गुनासो छ ।

कालोबजारी, मूल्यवृद्धि, अखाद्य वस्तु बिक्रीवितरण बढ्दो रुपमा रहेको भए पनि सम्बन्धित निकायले बजार अनुगमनका लागि चासो नदेखाएको गुनासो उपभोक्ताको छ ।

उपभोक्ताको खाद्य अधिकारलाई सुनिश्चित् गर्न र कालोबजारी रोक्न नियमित रुपमा बजार अनुगमन गर्नुपर्ने दोगडाकेदार ३ श्रीकोटका हेमराज गिरीले माग गर्नुभयो ।

उहाँले भन्नुभयो,“बजार अनुगमन नहुँदा कालोबजारी बढ्यो । यसलाई नियन्त्रण गर्नुपर्छ । अनुगमनलाई औपचारिकताका लागि मात्रै नभइ प्रभावकारी रुपमा गर्नु जरुरी छ ।”

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले भने जिल्ला प्रशासन कार्यालयले भने केही दिनमै बजार अनुगमन सुरु गर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“अब छिट्टै जिल्लाका सरोकारवाला सम्मेलित अनुगमन टोली बनाउछौँ, यसपछि जिल्लाका बजार अनुगमन हुन्छ ।”

बजारमा म्याद गुज्रेका सामग्री बिक्री वितरण नहोउन्, कालोबजारी हुन नपाओस् र महँगी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमनको गरिन्छ । यसबाट व्यापारी र उपभोक्ता दुवै सचेत हुन्छन् ।

साथै उपभोक्तालाई आफ्नो अधिकारको बारेमा जागरुक गराउँदछ भने व्यवसायीलाई पनि मिति हेरेर सामान किन्न प्रेरित गर्ने गर्दछ ।

समय समयमा अनुगमन गर्दा व्यापार व्यवसायमा अनुशासन कायम हुनेसमेत विश्वास गरिन्छ । गत वर्ष बजार अनुगमनबाट ४६ हजार ६८७ बराबरको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको थियो ।

अनुगमनका क्रममा ३३ व्यवसायीमाथि कारबाही गरिएका थियो । उक्त कारबाहीबाट रु दुई लाख ४५ हजार जरिवाना असूल भएको प्रशासनले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published.