बेलायतमा नर्स पठाउन सम्झौता हुँदै, के–के चाहिन्छ योग्यता ?

काठमाडौं । नेपाली नर्सलाई बेलायत पठाउनका लागि भदौ पहिलो हप्ता श्रम सम्झौता हुने भएको छ । नर्सिङ जनशक्ति बेलायत पठाउन भदौ ६ (२२ अगस्ट)मा नेपाल सरकार

र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता हुने तय भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेलले जानकारी दिए ।

बेलायत सरकारले १० हजार नर्सिङ जनशक्तिको माग गरेपनि पहिलो चरणमा पाइलट बेसमा केही संख्यामा मात्रै नर्सहरू पठाउने मन्त्रालयको तयारी छ ।

सन् २०२१ नोभेम्बरमा बेलायत सरकारले नेपालबाट १० हजार हेल्थ प्रोफेस्नल रोजगारीका लागि लैजाने प्रस्ताव पठाएको थियो । सोही प्रस्तावअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेलायतमा नेपाली स्वास्थ्यकर्मीको पठाउनका लागि जीटूजी मार्फत प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

बेलायत सरकारबाट माग भएबमोजिम नर्सिङ जनशक्ति पठाउने योजनाअनुरूप पछिल्लोपटक बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’, ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधिका साथै काठमाडौंस्थित बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको छलफलबाट श्रम समझदारीपत्रको मस्यौदा तयार पारिएको छ ।

गत जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को स्वीकृतिपछि बेलायत सरकारले माग गरेअनुसार १० हजार नर्सिङ जनशक्ति पठाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रक्रिया अघि बढाएको छ ।

पहिलो चरणमा पाइलट बेस परीक्षणका लागि केही संख्यामा नर्स पठाउने र उनीहरूको सेवा सुविधालगायतका अवस्था हेरेर थप जनशक्ति पठाउने मन्त्रालयको तयारी छ ।

पहिलो चरणमा कति संख्यामा नर्स पठाउने भन्ने यकिन भइनसकेको महाशाखा प्रमुख पोख्रेलले बताए । १० हजार नर्सलाई कुनै शुल्क नलिई बेलायतको नेसनल हेल्थ सर्भिसेसअन्तर्गतका स्वास्थ्य संस्थाहरूमा पठाउने सरकारको तयारी छ ।

के के योग्यता चाहिन्छ ?

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कुन तहको नर्सिङ जनशक्ति पठाउने भन्नेबारे सार्वजनिक गरेको छैन । बेलायत पठाउनका लागि ह्युमन रिसोर्स म्यापिङ भने गरिएको र १५ हजार बेरोजगार नर्सिङ जनशक्ति मध्येबाटै पठाउने तयारी भएको मन्त्रालयले जनाएको छ ।

तर, बेलायत जानका लागि दुई वर्ष नर्सिङ अनुभव हुनुपर्ने र आईएलटीएस गर्नुपर्ने महाशाखा प्रमुख पोखरेल बताउँछन् । यता नेपाल नर्सिङ संघले भने बेलायतले ‘स्टाफ नर्स’ लैजान चाहेको जनाएको छ ।

संघकी अध्यक्ष मनकुमारी राईका अनुसार बेलायतले १० हजार स्टाफ नर्स माग गरेको जानकारी बेलायतमा कार्यरत नेपाली नर्सहरूको संस्था नेप्लिज नर्सिङ एसोसिएसन यूकेले दिएको छ ।

नेपाल नर्सिङ परिषद्काअनुसार नेपालमा हालसम्म ६४५ जना स्पेसलिस्ट, ७२ हजार ५५० जना नर्स, ३१ जना मिडवाइफ, ३६ हजार ७७४ जना एएनएम, तथा ८४७ जना फरेन नर्स दर्ता भएका छन् । यीमध्ये २५ प्रतिशत नर्स रोजगारीका लागि अस्ट्रेलिया तथा अरेबियन देशहरूमा जाने गरेको परिषद्को तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published.