विवेकशील साझाको अध्यक्षमा समीक्षा र संयोजकमा सञ्जिव चयन

काठमाडौं । विवेकशील साझा पार्टीले नयाँ नेतृत्व चयन गरेको छ । पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले गत जेठमा दिएको राजीनामा स्वीकृत गर्दै पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले कार्यसम्पादन समिति सदस्य समीक्षा बास्कोटालाई नयाँ अध्यक्ष चयन गरेको हो ।

त्यसै गरी रिक्त संयोजक पदमा कार्यसम्पादन समितिकै अर्का सदस्य सञ्जिव वल्लभ भट्टराई चयन भएका छन् ।

विवेकशील साझा पार्टी, बागमती प्रदेशकी पूर्व संयोजक ३८ वर्षीय बास्कोटा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार थिइन् ।

त्यसअघि उनले २०७४ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेर २७ प्रतिशत मतसहित तेस्रो स्थान हासिल गरेकी थिइन् ।

उनले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छिन् ।

संयोजक चयन भएका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य भट्टराईले समाजशास्त्र, अर्थशास्त्र र अङ्ग्रेजी भाषामा स्नातक गरेका छन् । ३४ वर्षे भट्टराई तत्कालीन विवेकशील नेपाली दलको निर्वाचित नीति सचिव तथा विवेकशील साझा पार्टीको नीति विभाग प्रमुख थिए ।

बैठकले आउँदो मङ्सिर ४ गते हुने संघीय तथा प्रादेशिक निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने र त्यसका लागि आवश्यक तयारी थाल्ने पनि निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published.