फोहोर व्यवस्थापनमा अवरोध गर्ने एक-एकको पोल खाेल्दै बालेन !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सोमबार पनि फोहोर व्यवस्थापन सहज नभएको बताएका छन् ।

उनले सत्तारुढ दलकै स्थानीय नेताको अगुवाइमा भएको अवरोधका कारण फोहोर व्यवस्थापन गर्न समस्या भएको बताएका छन् ।

सोमबार फेसबकुमा स्टाटस लेख्दै उनले फोहोर व्यवस्थनमा राज्य संरचना निरीह बनेको टिप्पणी गरेका छन् । बञ्चरेडाँडमा ५ अर्ब भन्दा बढी लगानी गरिसकेको र दुई दशकदेखि योजना बनाएको अवस्थामा पनि फोहोर लैजान माथापच्ची गर्नुपरेकोमा उनले असन्तुष्टि जनाएका छन् ।

‘२०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पुरै राज्य संरचना यस्तो निरिह किन बन्छ ?’ बालेनले प्रश्न गरेका छन् ।

बालेनको भनाइको पूर्णपाठ

फोहोर लैजाने कुरा आज पनि सहज भएन । सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरियो, जसलाई विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको देखियो ।

यद्यपि २०० भन्दा बढी प्रहरीहरुको परिचालनबाट फोहोरका गाडीहरु बञ्चरे लगियो । तर केही समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास गरियो । यसैकारण आज २०३ वटा मात्र फोहोरका गाडीहरु बञ्चरे डाँडा लैजान सकियो ।

केही दिन र केही समयबाट देखिरहेको समस्या सतही मात्रै हो । यसका गहिरा र अलग्गै कारणहरु छन् । नत्र सोच्नुहोस् त, राज्यले ५ अर्बभन्दा बढि लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नुपर्छ ? २०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पुरै राज्य संरचना यस्तो निरिह किन बन्छ ?

यहाँ केही कमजोरी, केही गल्ती भएकै छ । सिसडोलमा गरिएको लापरवाही र त्यो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयहरुले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक पनि होइन । तर हामी विश्वस्त पार्न चाहन्छौँ कि विगत दोहोर्‍याएर अपराध गर्ने छैनौँ । यसका लागि केही समय भने पक्कै लाग्छ ।

सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगिताका लागि महानगर संवेदनशील छ । हामी आफूले गरेका सहमतिहरुको पालना गर्नेछौँ । सबै पक्षबाट हामी त्यही किसिमको संवेनशीलता र इमान्दारिताको अपेक्षा राख्दछौँ ।

पुन: भन्न चाहन्छौँ, व्यवस्थापन हाम्रो स्वार्थहरुको गर्नु पर्ने होइन, फोहोरको हो । आफ्ना कुत्सित स्वार्थहरुको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नु भएको छ भने त्यो भ्रम हो । त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन । सबैले जित्ने कार्यक्रम लागू गर्ने योजनामा महानगर छ ।

काठमाडौंबाट गएको फोहोर बाटोमा अलपत्र

काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा ल्याण्डफिल साइट हिँडेको गाडी राजनीतिक दलका प्रतिनिधिहरूको अवरोधका कारण बीचैमा रोकिएको छ। काठमाडौंका फोहोर फ्याक्न दिने सम्बन्धमा आइतबार मात्र सहमति जुटेको थियो।

स्थानीय तीन दलका नेताहरू बसेर फोहोर फ्याक्न दिने घोषणा गरेका थिए। तर, साँझ धादिङ धुनिबेशी नगरपालिका–१ कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केन्द्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ती निकालेर बञ्चरेडाँडामा फोहोर फ्याक्न नदिने घोषणा गरे।

बिहान काठमाडौंबाट हिँडेको गाडीले अवरोधका कारण फोहोर फ्याक्न सकेनन्। आइतबार गएको २५ वडा ट्रकले भने फोहोर बिर्सजन गरेका थिए।

Leave a Reply

Your email address will not be published.