बाबुरामसँगै बामदेव पनि माओवादी केन्द्रमा, स्थायी समिति बैठकले गर्यो यस्तो निर्णय

काठमाडाैं । नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानले नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नबाट निर्वाचन लड्ने भएका छन्।

साउन ३१ गते बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले दुवै पार्टीलाई आफ्नो चिह्न प्रयोग गर्न दिने निर्णय गरेको हो। बैठकबारे जानकारी दिंदै माओवादी प्रवक्ता कृष्णबहादुर महराले भने, “वामदेव र बाबुरामजीलाई माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लड्न दिने पार्टीले निर्णय गरेको छ।”

बाबुराम भट्टराईले जनता समाजवादी पार्टी विभाजन गरेर नेपाल समाजवादी पार्टी र वामदेव गौतमले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान नामक पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन्।  उनीहरूले मंसीर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादीको चिह्न प्रयोग गर्न खोजेका हुन्।

बैठकपछि पत्रकारसँग कुरा गर्दै महराले वामदेव र बाबुरामका कतिपय सर्तहरू रहेको र त्यसबारेमा गठबन्धनमा पनि छलफल हुने जानकारी दिए । माओवादी स्थायी कमिटी बैठक बुधवार फेरि बस्ने महराले बताए।

तत्कालीन नेकपामा विभाजन देखिएपछि तटस्थ बसेका वामदेव एमाले ब्यूँतिएपछि केपी शर्मा ओली नेतृत्वमा बस्न नसक्ने भन्दै बाहिरिएका थिए।

त्यसपछि नेकपा राष्ट्रिय एकता अभियान नामक दल पनि उनले निर्वाचन आयोगमा दर्ता गराएका थिए। मंगलबारकै बैठकले जनता समाजवादी छाडेर नेपाल समाजवादी पार्टी गठन गरेका भट्टराई पनि आफ्नो चुनाव चिह्नबाट लड्न दिने निर्णय भइसकेको छ

भट्टराईले माओवादीको चुनाव चिन्हबाट लड्ने प्रस्ताव गरेका थिए। सो प्रस्तावबारे आजको बैठकले निर्णय गरेको हो।

भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर उम्मेदवारी दिने विषयमा भएको मौखिक सहमतिबारे पार्टी सदस्यहरुलाई जानकारी गराइसकेका छन्।

नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले आसन्न निर्वाचनमा एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने जानकारी आज निर्वाचन आयोगलाई गराउँदै छन् ।

आज दिउँसो १ बजे माओवादी केन्द्र र नेसपाका नेताहरु निर्वाचन आयोगमा गएर एउटै चिह्न लिएर चुनावमा भाग लिने जानकारी गराउने माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.