प्रचण्ड भेट्न खुमलटार पुगे मेयर हर्क साम्पाङ, के-के भयो कुराकानी ?

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । भेटका क्रममा अध्यक्ष प्रचण्डले साम्पाङलाई स्वागत र सम्मान स्वरुप खादा लगाइदिएका थिए ।

धरानको खानेपानी समस्या समाधानका लागि संघीय सरकारसँग छलफल गर्न काठमाडौं आएका मेयर साम्पाङले मंगलवार माओवादी अध्यक्ष प्रचण्डसँग उनकै निवास खुमलटारमा भेट गरेका हुन् ।

मेयर साम्पाङ र प्रचण्डबीच धरानका उपमेयर आईन्द्रविक्रम बेघाको संयोजनमा भेट भएको बताइएको छ । बेघा नेकपा माओवादी केन्द्रबाट उपमेयरमा निर्वाचित भएका थिए ।

भेटमा समसामयिक राजनीतिका साथै विकासका विभिन्न पक्षका बारेमा कुराकानी भएको बताइएको छ ।

यस्तै अर्थमन्त्री जनार्दन शर्माले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न सङ्घीय सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

धरान उपमहानगरका मेयर हर्क साम्पाङसँग मङ्गलवार मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले आवश्यक प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन सङ्घीय सरकारले महानगरलाई सहयोग गर्ने आश्वासन दिएका हुन् ।

भेटमा मन्त्री शर्माले मेयर साम्पाङ र उहाँको टिमले धरानका जनताको खानेपानीको समस्या समाधान गर्न गर्नुभएको जनपरिचालनको उच्च प्रशंसा गरे। ‘तपाईँले अहिले खानेपानीको समस्या समाधानका लागि गरिरहेको जनपरिचालन निकै उदाहरणीय छ’, मन्त्री शर्माले भने।

Leave a Reply

Your email address will not be published.