वामदेव गौतम भन्छन् ‘एमालेको चुनाव चिन्ह लिँदा हारिन्छ, त्यसैले माओवादीको चिह्न लिएँ’

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले जित सुरक्षित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएर आसन्न निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार भएको बताएका छन् ।

मंगलबार निर्वाचन आयोग पुगेका गौतमले उक्त पार्टीको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्न लागेको सञ्चारकर्मीसँग बताए ।एमालेको चुनाव चिन्ह लिंदा निर्वाचन पटकपटक हारिएकाले माओवादीको चिह्न लिएको बताए ।

“गोलाकारभित्र हँसिया हतौडा भएको चुनाव चिह्नमा म चुनाव लड्छु भनेर इच्छा जाहेर गरेको हुँ,” गौतमले भने, “त्यसो गर्न म किन बाध्य भएँ भने गठबन्धनले मलाई न लिईकन पनि गठबन्धनमा सामेल भएको हुन्छु । जित सुनिश्चित हुन्छ ।”

उनले आफ्नो पार्टीले पाउने सिटबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई निर्णय गर्न जिम्मा दिएको पनि बताए ।

“मैले प्रचण्डलाई जिम्मा दिएको छु । गठबन्धनबाट होस् या माओवादीको हिस्साबाट दिने उहाँ नै जान्नुहुन्छ,” गौतमले भने । उनले माओवादीको चुनाव चिह्नबाट लडे पनि आफू नेकपा एकता राष्ट्रिय अभियानको पदाधिकारी नै रहने बताए ।

“हामीले चुनावमा गोलाकारभित्र हँसिया हतौडा चुनाव चिह्न प्रयोग गर्न खोजेको हो । हामी राष्ट्रिय एकताको पदाधिकारी हो । त्यो भइरहन्छौँ,” उनले भने ।

Leave a Reply

Your email address will not be published.