गेजेन्द्र महतको कटाक्ष : नागरिकता विधेयक राष्ट्रपतिकहाँ राति १२ बजेपछि पठाऔँ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले नागरिकता विधेयक राष्ट्रपतिकहाँ राति पठाउन सुझाव दिएका छन् ।

आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै महतले अघिल्लो सरकारका निर्णयहरु राष्ट्रपतिबाट राति नै प्रमाणित भएको भन्दै त्यस्तो व्यङ्ग्यात्मक सुझाव दिएका हुन् ।

“नागरिकता विधेयक पुनः राष्ट्रपतिकहाँ पठाउनुपर्ने होला । राष्ट्रपति कार्यालयमा पठाउँदा दिउँसो पठाउनुभएन, राति पठाउनुपर्यो,” उनी भन्छन्, “अफ्ठ्यारा कामहरु राति नै फत्ते हुन्छन् । प्रमाणीकरण गर्नुपर्ने होला । त्यसो भएकाले मन्त्रीज्यू दिउँसो नपठाउनुहोला ।”

महतले दिउँसो पठाउँदा प्रमाणीकरण नहुने समेत बताए । राष्ट्रपति कार्यालयलाई बानी परेको भन्दै उनले दिउँसो पठाउँदा प्रमाणीकरण नहुने भएकाले राति पठाउन आग्रह गरे ।

राष्ट्रपतिले पुनर्विचारका लागि पठाएको विधेयक आजै पारित गर्ने तयारी छ ।

पूर्व फर्कँदा एउटा राष्ट्रियता, पश्चिम फर्कँदा अर्कै ?

सत्तारुढ दल नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले नागरिकता विधेयकमा मौसमी राष्ट्रवाद देखिएको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथिको छलफलमा बोल्दै विश्वकर्माले पूर्व फर्कँदा एक खालको, पश्चिम फर्कँदा अर्को खालको, उत्तर र दक्षिण फर्कँदा पनि फरक फरक राष्ट्रियता देखिएको बताए ।

नागरिकता नपाएका कारण लाखौँ मानिसहरू समस्यामा परेको भन्दै विश्वकर्माले नागरिकता दिने कुरालाई निर्वाचन राजनीति र राजनीतिक दलसँग जोड्न नहुने र यसलाई पास गर्नुपर्ने बताए । उनले ओली सरकारले अध्यादेशमार्फत ल्याएको विधेयक नै यो सरकारले ल्याएको पनि बताए ।

“नेपालमा लामो समयदेखि नागरिकहरू नागरिकताबाट वञ्चित भएकोले समाधान गर्न यो नागरिकता विधेयक प्रस्तुत भयो । संसद्ले पारित गरेको विधेयक राष्ट्रपतिबाट पारित गर्नुपर्ने हुन्थ्यो,” उनले भने, “१४ दिनसम्म विलम्व गरेपछि यहाँ आएको छ । यसलाई अन्थया लिनु हुँदैन ।”

सचेतक विश्वकर्माले २०७५ सालमा सात वर्षे प्रावधान राखेर विधेयक ल्याउँदा पनि समितिमा २२ महिनासम्म अड्किएको भन्दै त्यसपश्चात् सरकारले अध्यादेशबाट विधेयक ल्याएको र राष्ट्रपतिले लालमोहर लगाएको पनि बताए ।

Leave a Reply

Your email address will not be published.