काठमाडौं । संसदमा सबैभन्दा बढी समय अनुपस्थित हुने १५ जना सांसदहरुको नामावली सार्वजनिक भएको छ ।
सबैभन्दा लामो समय विदा बस्ने सांसद नवराज रावत छन् । उनी साउन ३ गतेदेखि भदौ २२ गतेसम्म विदामा छन् । संसद सचिवालयले सार्वजनिक गरेको विवरण अनुसार उनी निजी कामका लागि अमेरिका भ्रमणमा छन् ।
सभामुख अग्नि सापकोटाले आजको संसद बैठकमा लगातार १० दिन वा सोभन्दा बढी समयसम्म गयल हुने सांसदहरुको नामावली प्रस्तुत गरेका हुन् ।
धेरै गयल हुने सांसदहरुमा भिमसेनदास प्रधान, प्रदीप गिरी, तुल्सी थापा, गंगा चौधरी, धर्मशिला चापागाईं, रघुविर महासेठ, जुली कुमारी महतो, शान्ता चौधरी, कर्मा घले छन् ।
यसैगरी सुरेश चन्द्र दास, शिवकुमार मण्डल, निर्जला राउत, नवराज रावत र विनोद कुमार चौधरी, नागेन्द्र कुमार पनि धेरै गयल हुने सांसदहरुको सूचीमा परेका छन् ।
मत विभाजनमार्फत् नागरिकता विधेयक पारित : पक्षमा १३५, विपक्षमा ६० मत
नागरिकता विधेयक पारित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा पठाएको विधेयक मतविभाजन प्रक्रियामार्फत हुबहु प्रतिनिधिसभाबाट पारित भएको हो ।
प्रतिपक्षी दल नेकपा (एमाले)ले ध्वनीमतबाट नभई मतविभाजनबाट टुंग्याउन माग गरेको थियो । सोही अनुसार मतविभाजनबाट पारित भएको हो । मत विभाजन गर्दा विधेयकको पक्षमा १३५ र विपक्षमा ६० मत परेको थियो ।
विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित गरेर प्रमाणिकरणका लागि पठाइएको थियो । विधेयक राष्ट्रिय सभाबाट साउन १२ गते पारित भएको थियो ।
राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न भन्दै साउन २९ गते संसद्मा फिर्ता पठाएकी थिइन् ।
विशेषगरी एमालेले वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षे प्रावधान राख्न माग गर्दै आएको छ । आजको बैठकमा विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाको हकमा तुरुन्तै नागरिकता नदिन प्रावधान राख्न माग गरेका थिए ।
प्रतिपक्षी दलका प्रमुख सचेतक विशाल भट्टराईले ७ वर्षे प्रावधान राख्दा के बिग्रन्छ ? भन्दै प्रश्न गरेका थिए ।
सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले व्यवस्था नै नभएको विषयमा धेरै चर्चा भएको बताए । संविधानको व्यस्था अनुसार नै विधेयक ल्याइएको उनको भनाइ थियो ।