कविराम र कर्णबहादुरको नागरिकता सच्चियो

दैलेख। नागरिकतामा अपमानजनक नाम राखिएका दैलेखका दुई जनाको नाम सच्याएर नागरिक प्रमाणपत्र जारी गरिएको छ ।

नेपाली नागरिकतामा ‘कुकुर कामी’ लेखिएका कविराम कामी र ‘ठगे कामी’ लेखिएका कर्णबहादुर बिकको नागरिकता सच्याइएको हो ।

साबिक मेहेलतोली गाविस–६ हाल भगवतीमाई गाउँपालिका मेहेलतोलीका कविराम र साबिक कट्टी गाविस–६, हाल भगवतीमाई गाउँपालिका–५ का कर्णबहादुरले नयाँ नागरिकताको प्रमाणपत्र पाएका हुन् ।

नागरिकतामा अपमानजनक नाम भएको विषयमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन गरेको थियो । साउन २३ गते गृह मन्त्रालयले नाममा अपमानजनक शब्द प्रयोग गरेर विभिन्न जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकता प्रमाणपत्र सच्याउन परिपत्र गरेको थियो ।

गृहको परिपत्रसँगै कविराम र कर्णबहादुरले साउन २४ गते अपमानजनक नाम सच्चाएर नयाँ नागरिकताको प्रतिलिपिका लागि जिल्ला प्रशासनमा निवेदन दिएका थिए ।

नागरिकतामा अपमानजनक नाम लेखिएका अन्य व्यक्तिहरूलाई पनि जिल्ला प्रशासनको सम्पर्कमा आउन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published.