एमाले बैठक : आफ्नै नेतृत्वको सरकार बनाउने

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक केहीबेरअघि सम्पन्न भएको छ । बैठकले पार्टीपङ्क्ति एकढिक्का भएर सत्ता गठबन्धनको सामना गर्ने र चुनावपछि आफ्नै नेतृत्वमा सरकार बनाउने लक्ष्य र उद्दृेश्यका साथ अगाडि बढ्ने निर्णय गरेको छ ।

एमालेले वाम गठबन्धनको सबै सम्भावना अन्त्य भएकाले पार्टीपंक्ति एक ढिक्का भएर सत्ता गठबन्धनको सामना गर्नेतिर केन्द्रित हुने बताएको छ ।

अब एमालेले बाम गठबन्धनमा भन्दा पनि बाम कार्यकर्तालाई आकर्षित गर्ने कुरामा बढी जोड दिने विषयमा पनि आजको बैठकमा छलफल भएको बताएको छ ।

त्यस्तै बैठकमा उम्मेदवारको मापदण्ड पनि पेश भएको छ । तर, त्यस मापदण्ड र चुनावी रणनीतिबारे केन्द्रीय कमिटीमा एमालेले छलफल गर्ने बताएको छ ।

त्यस्तै पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा उम्मेदवार हुनेहरू जित्न र नहुनेहरू जिताउन कटिबद्ध भएर लाग्न निर्देशन दिएका छन् ।

अहिले उम्मेदवार हुन नपाउनेहरूका लागि भविष्यमा अन्य अवसरहरू आउने बताउँदै ओलीले क्षणिकको कुण्ठा र आवेगका कारण सिङ्गो पार्टीलाई क्षति बोकाउन नहुनेमा जोड दिएका छन् ।

विभिन्न आवेग र क्रोधका कारण आफ्नै पार्टीका उम्मेदवार हराउँदा त्यसको असर सम्पूर्ण पार्टीमा पर्ने तथा भविष्यमा प्राप्त हुने अवसरका अनेकौं ढोकाहरू समेत बन्द हुने भएकाले पनि पार्टीले जित्नु महत्वपूर्ण कुरा रहेको बताएका छन् ।

पार्टीले चुनाव जितेर सरकार बनाउन सके त्यसपछिको अवसर प्राप्तीको हिस्सेदार पार्टीकै योद्धाहरू हुने ओलीको भनाइ छ ।

पार्टीभित्रका सम्पूर्ण नेता–कार्यकर्ताहरू यो वा त्यो वहानामा विभक्त नभइ एकजुट भएर चुनावमा जान सकेको खण्डमा एमालेले चुनाव जित्ने कुरामा कुनै शंका नरहेको पनि ओलीले बताएका छन् ।

यस्तो छ, आजको बैठकले गरेका निर्णयहरू–

बैठकले स्थायी कमिटीको तेस्रो बैठकपछि सचिवालयले गरेका विभिन्न निर्णयहरू अनुमोदन गरेको छ । अध्यक्ष क.केपी शर्मा ओलीको संयोजकत्वमा गठन गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा–पत्र मस्यौदा कार्यदल र

निर्वाचन परिचालन कमिटी गठनको निर्णयलाई बैठकले अनुमोदन गरेको छ । केन्द्रीय कमिटी तथा सल्लाहकार परिषद् र विभिन्न विभागका सचिव पदमा गरिएको मनोनयनको निर्णयलाई बैठकले अनुमोदन गरेको छ ।

बैठकमा अध्यक्ष क.केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गर्नुहुने राजनीतिक प्रतिवेदनका विषयमा संक्षिप्तमा जानकारी गराउनुभयो ।

बैठकमा प्रदेश इन्चार्जहरू प्रदेश–१ का क. देवराज घिमिरे, मधेश प्रदेशका क. रघुवीर महासेठ, बागमती प्रदेशका क. काशीनाथ अधिकारी, लुम्बिनी प्रदेशका क.छविलाल विश्वकर्मा,

कर्णाली प्रदेशका क. यमलाल कँडेल र सुदूरपश्चिम प्रदेश इन्चार्ज क.लेखराज भट्टले आ–आफ्नो प्रदेशको राजनीतिक तथा सांगठानिक अवस्थाका बारेमा रिपोर्टिङ गर्नुभयो ।

बैठकमा क.सुवासचन्द्र नेम्वाङ, क.घनश्याम भुसाल, क.रघुजी पन्त, क.खगराज अधिकारी, क.प्रभु साह, क.कर्ण थापा, क.गुरु बराल, क.मणिचन्द्र थापा, क.शेरबहादुर तामाङ, क.शेरधन राई, क.गोरखबहादुर बोगटी र क.हिक्मत कार्कीले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

यही भदौ ९ गते पार्टीको पोलिटब्यूरो बैठक तथा भदौ १० र ११ गते केन्द्रीय कमिटीको बैठक बस्नेछ ।

Leave a Reply

Your email address will not be published.