अधिकृत भएपछि श्रीमानलाई वैदेशिक रोजगारीबाट फर्काएर लोकसेवा पास गराउने गीता …

गीता आचार्य, शाखा अधिकृत
निजामती सेवालाई समाजको मर्यादित र प्रतिष्ठित पेसाका रूपमा लिइन्छ । तर, बढ्दो आकर्षणका कारण लोकसेवामा चर्को प्रतिस्पर्धा हुन्छ ।

महिलाको हकमा आरक्षण सुविधा भए पनि लोकसेवा पास गर्नु पहिलेभन्दा निकै चुनौतीपूर्ण हुँदै गएको छ । त्यसैले लोकसेवा पास गर्न अथक मिहिनेत र नियमित अध्ययन जरुरी हुन्छ।

मेरो लोकसेवा यात्रा

स्नातक तहमा व्यवस्थापन संकायको विद्यार्थी भएकाले मेरो सपना बैंकर बन्ने थियो । त्यसैले पनि लोकसेवा पढ्ने सोच मेरो दिमागमा कहिल्यै आएन ।

स्नातक तह अध्ययनका क्रममा बुबाले किनेर ल्याइदिनुभएको लोकसेवाका किताब धमिराले धुल्याउँदासम्म पनि हेरिनँ । त्यतिवेला लोकसेवा पास हुन सक्छु भन्ने लाग्दैनथ्यो ।

स्नातक तहको अध्ययन सकिनेबित्तिकै मेरो विवाह भयो । विवाहपछि पढाइलाई निरन्तरता दिन गाह्रो हुन्छ भनिन्छ । तर, मेरो हकमा त्यस्तो भएन ।

घरपरिवारबाटै मलाई लोकसेवा पढ्न प्रेरणा मिलेको हो । घरनजिकैको विद्यालयमा निम्नमाध्यमिक तहको अस्थायी शिक्षकबाट राजीनामा दिएर लोकसेवा पढ्न काठमाडौं आएकी थिएँ । ०७० मा काठमाडौं आएर लोकसेवा तयारी थालेँ ।

पहिलो वर्ष समय अभाव र लोकसेवाको शून्य तहबाट सुरु गर्नुपर्ने भएकाले नायब सुब्बाको तयारी गरेँ । ०७१ मा नासु पास गर्न सफल भएँ । र, साबिकको पुनरावेदन अदालत बुटवलमा सिफारिस भएँ ।

त्यसै वर्ष शाखा अधिकृतको फाराम त भरेँ, तर राम्रो तयारी भएको थिएन । ०७२ सालमा आएर शाखा अधिकृतमा खुलातर्फबाट सिफारिस भएँ ।

नियमित तथा सबै पत्रको सन्तुलित अध्ययनका कारण म नायब सुब्बा र शाखा अधिकृत दुवै परीक्षामा पहिलो सहभागितामा नै सफल भएँ ।

आफू वैदेशिक रोजगारीमा रहेर मलाई लोकसेवा पढाउने श्रीमान्लाई शाखा अधिकृत भएपछि १० वर्षे वैदेशिक रोजगारीबाट छुटाएर लोकसेवा पढाएँ । उहाँ पनि पास हुनुभयो ।

यसरी पढेँ

व्यक्तिअनुसार अध्ययन शैली फरक–फरक हुन्छ । कसैले घोकेर, लय मिलाएर त कसैले सूत्र बनाएर सम्झने गर्छन् । तर, मेरो अध्ययनशैली अरूको भन्दा बेग्लै छ ।

मैले घोकेर र सूत्र बनाएर पढ्न कहिल्यै सकिनँ । धेरै समय लगातार पनि पढ्न सक्दिनथेँ । पत्रपत्रिकाका लेख तथा बृहत् पुस्तकहरूको अध्ययन गरेर विषयवस्तु बुझ्ने कोसिस गर्थें ।

तयारी कक्षाका पृष्ठपोषण कक्षाहरूमा सहभागी हुँदा स्वमूल्यांकन गर्ने, आफ्ना प्रतिस्पर्धी चिन्नेलगायतका अवसर मिल्यो । र, त्यहीँबाट आफ्ना कमी–कमजोरी सुधार्न सहज भयो ।

परीक्षामा उत्तर लेख्दा परिमाणभन्दा गुणस्तरलाई मध्यनजर गर्थें । उपयुक्त शब्द चयनलाई ध्यानमा राखेर विषयवस्तुभित्र पसेर उत्तर लेख्ने प्रयास गरेँ । मेरो वस्तुगतभन्दा विषयगत पक्षको तयारी बलियो थियो ।

लामो समय लगातार पढ्न म सक्दिनँ, बीच–बीचमा ‘रिफ्रेसमेन्ट’ चाहिन्छ । लगातार दुई घन्टा पढेँ भने एक घन्टा त मलाई ‘रिफ्रेस’ हुनुपर्छ ।

पढ्दा एउटै विषयवस्तुमा पनि धेरै सामग्रीको अध्ययन गरेर आफ्नो मौलिकतामा छुट्टै निचोड निकाल्थेँ । केही समय भए पनि निमावि तहमा गणित विषय अध्यापन गराएकाले मलाई ‘आइक्यू’मा त्यसले धेरै सघाउ पुग्यो ।

काठमाडौंमा भर्खर आएको र यहाँ धेरै साथी नबनाइसकेकाले मेरो समूह अध्ययन कहिल्यै भएन ।

यसरी नियमित तथा सबै पत्रको सन्तुलित अध्ययनका कारण म नायब सुब्बा र शाखा अधिकृत दुवै परीक्षामा पहिलो सहभागितामा नै सफल भएँ ।

आफू वैदेशिक रोजगारीमा रहेर मलाई लोकसेवा पढाउने श्रीमान्लाई शाखा अधिकृत भएपछि १० वर्षे वैदेशिक रोजगारीबाट छुटाएर लोकसेवा पढाएँ । उहाँ पनि पास हुनुभयो ।

यसबाट मलाई के लाग्छ भने मिहिनेत गर्‍यो भने असम्भव केही पनि छैन ।

आफूलाई सहज हुने गरी पढ्नुपर्छ

पढ्ने शैली सबैको फरक–फरक हुने भएकाले आफूलाई कसरी पढ्दा सहज हुन्छ, त्यस्तै शैली अपनाउँदा राम्रो हुन्छ ।

परीक्षा दिएर बाहिर आउँदा साथीहरूका कुरा सुन्दा मलाई पनि लाग्थ्यो कि यिनीहरूले यति धेरै मिलाएका छन्, मेरो त थोरै मिलेको छ, पास हुन गाह्रो छ ।

तर, यथार्थमा त्यस्तो नहुँदो रहेछ, कसैले अरूलाई हतोत्साहित गराउन पनि यसो भन्ने गर्दछन् । त्यसैले यस्तो बहकाउमा नआएर अध्ययनलाई निरन्तरता दिनुपर्छ ।

विषयगत अध्ययनलाई फराकिलो बनाएर पढ्न सकेमा उत्तर लेख्दा सहज हुन्छ । परीक्षामा सोधिएको प्रश्नले के मागेको छ भन्ने कुरालाई ध्यान दिएर मौलिक तथा तथ्यपरक उत्तर लेख्दा राम्रो हुन्छ ।

अध्ययन गर्दा विषयवस्तुसँग मेल खाने पत्रपत्रिकामा प्रकाशित लेख, आवधिक योजना तथा प्रशासनिक सुधार प्रतिवेदनमा प्रकाशित विषयहरूलाई विषयवस्तुसँग आन्तरिकीकरण गरेर पढ्नु राम्रो हुन्छ ।

पढ्दा अरूको नोट तथा विभिन्न संस्थाका नोट त अरू सबैले लेख्ने हुनाले आफ्नो छुट्टै मौलिक उत्तर लेख्दा पृथक हुन्छ र जाँचकीलाई प्रभाव पार्न सकिन्छ ।

पढेका विषयलाई निरन्तर रूपमा पुनरावलोकन र समय–समयमा स्वमूल्यांकन गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published.