ओलीले आफै हार्मोनियम बजाएर तारालाई नारायणगोपालको गीत सुनाएका थिए !

नेपालमा जतिबेला बिद्या भण्डारी राष्ट्रपती र ओन्सरी घर्ती सभामुख बन्दै थिए, त्यतिबेला मैल लेखेको थिएँ– हल्का बनाइँदै गरिमामय पदहरु ।

सभामुख ओन्सरी घर्तीले खासै ओहो भन्ने काम नगरेपनि, बिगार्ने कामचाहिं केही गरिनन् जस्तो लाग्छ । उनीप्रति मेरो खासै गुनासो छैन । तर राष्ट्रपती बिद्या भण्डारीले त धेरै कुरा खत्तमै पारिन् ।

राष्ट्रपती पद यति र यो हदसम्म हलुका हुन्छ र बनाइन्छ भन्ने मैले उबेला कतै पनि कल्पना गरेको थिइन । प्रधानमन्त्रीले जे जे भने, त्यही त्यही राष्ट्रपतीले मानिन्, मान्दै गइन्, यहाँसम्म ठिकै हो । ठिकै थियो ।

राष्ट्रपती त सार्वजनिक समारोहमा समेत खित्खिताउन पो थालिन् । जुन दिन नेपालकी राष्ट्रपती शपथ ग्रहण जस्तो असाध्यै औपचारीक र मूल्यवान समयमा खित्खताएको मैले देखें र सुनें, त्यो दिन मलाइ लाग्यो– नेपालको लोकतन्त्रले ‘टिनएज’ पनि पार गरेकै रहेनछ । संबैधानिक अनुशासन र मर्यादा कायम गर्ने मामिलामा जुन देशका प्रधानमन्त्री र राष्ट्रपती नै टिनएज जस्ता छन् त्यहाँ जनताले परिपक्व लोकतन्त्र खोजेर कहाँ पाउँने ?

ढुक्क भए हुन्छ– नेपालको लोकतन्त्र आज पनि अल्लारे छ । अल्लारे मुडमा यता उता जेपनि हुन्छ । जसो पनि हुन्छ । भैरहेको यही र यस्तै छ । प्रधानमन्त्रीको खोजी, दाबी र चुनाबको घोषणा यसैको एउटा नमुना हो । टिनएजरहरुको भर हुँदैन ।

अरु के के हुने हो हेर्न र देख्नै छ ।

नढाँटीकन भनौं– पछिल्ला दिनहरुमा नेपालको राजनीतिमा भैरहेका अल्लारे राजनैतिक गतिविधिहरु देख्दा मेरो मनमा आउँछ लोकतन्त्र भनेको पनि यस्तै हो । बरु सैनिकले शासन लिए हुन्छ । यत्रो कोरोनाको महामारी छ । ज्यान बचाउनु पर्नेछ । ज्यान लोकतन्त्रले बचाउन सक्दैन भने अरु कुनै तन्त्रले आएर बचाए पनि हुन्छ । ज्यान भन्दा बढी प्यारो कुनै तन्त्र हुन्छ र ?

अहिले नेपालमा चलिरहेको तन्त्रलाई कसैले लोकतन्त्र भन्छ भने उ भ्रममा छ । नेपालमा लोकतन्त्र होइन, नेतातन्त्र चलिरहेको छ । र, नेताहरु अल्लारे छन् । यसैले नेपालको लोकतन्त्र अल्लारे छ । अल्लारेहरुकै हातमा छ ।

भण्डारीले राष्ट्रपती पदको गरिमा धान्न सक्दिनन् भन्ने त मलाई पहिलो दिन नै लागेको हो । तर ओलीमाथि भने मलाई विश्वास थियो ।

म खासमा शुरुताका नेपालका प्रधानमन्त्री खड्गप्रसादलाई परिपक्व र राम्रै मान्थें । उनका कतिपय आयामिक व्यक्तित्व र शैलीहरु मलाइ मन परेको हो पनि । मेरी श्रीमती तारा रावल, ओलीकी जबर्जस्त पक्षपाती हुन् । उनी आजपनि अन्तर्वार्ता गर्न जाँदा ओलीले हार्मोनियम समाएर नारायण गोपालका गीत गाएको सम्झिरहन्छिन् ।

म आजकल हरेक दिन जसो तारालाई सोध्छु– अन्तर्वार्ता लिन जाँदा तिमीलाई नारायण गोपालका गीत सुनाउने ती ओली आज कता हराए ? ती ओली आज कहाँ छन् ? के आज ती ओली बाँकी छन् ?

मलाइ त लाग्दैन, ती ओली आज बाँकी छन् । म ग्यारेन्टीका साथ भन्छु– नारायण गोपालका गीत गुनगुनाउने कोही मान्छे, यति घमण्डी, यति लिच्चड, यति अहंकारी हुनै सक्दैन । जो मान्छे गीत र संगीतको लतमा छ त्यो मान्छे तलाऊ जस्तो हुन्छ । खहरे त हुनै सक्दैन ।

म आश्चर्यमा छु– अन्तर्वार्ता लिन जाँदा नारायण गोपालका गीत सुनाउने मान्छे ओली आज कसरी खहरे भए ? र खहरे बनेर बबण्डर मच्चाइरहेका छन् ? ओलीले नेपालको राजनीतिमा मच्चाएको बबण्डर देखेर म आजीत छु ।

एकैछिन है त, कल्पना गरौं– एउटा दृश्यको । यस्तो दृश्य जहाँ ओली भनिरहेका छन्– मैलै मेरो नाममा नेपाल कम्युनिष्ट पार्टीलाई बहुमत दिलाएँ । दुइ वर्ष सरकार चलाएँ पनि । म बिरामी पनि छु । पार्टी एकता गर्दा प्रचण्डसँग साढे दुइ वर्षको सम्झौता गरेको हुँ । म अब आराम गर्छु । तपाईंहरु मिलेर नेपाल कम्युनिष्ट पार्टीलाई सम्हाल्नुस् ।

ओहो, ती ओली कति महान हुन्थे होलान् ? त्यसो भएको भए आज नेपालको दृश्य कति फरक हुन्थ्यो होला आज हामीले देखिरहेको भन्दा ?

शायद ती ओली आज बडो स्वाद मानेर गीत संगीतमा अरु हराइरहेका हुने थिए । शायद ती मोक्ष प्राप्त गरेका ऋषि जस्ता हुने थिए । र, उनको शितल छहारीमा नेपालमा नेपाल कम्युनिष्ट पार्टीको बलियो सरकार चलिरहेको हुने थियो ।

त्यसो भएको भए म तारालाई भन्ने थिएँ– तिमीले भेटेको ओली आज पनि उस्तै छन् । ती आज पनि नारायण गोपालको गीत गुनगुनाउँछन् । ती तलाऊ जस्ता शान्त छन् ।

मैले अघि नै भनिसकें– जो मान्छे गीतसंगीत मन पराउँछ उ तलाउ हुन्छ, खहरे हुनै सक्दैन । समय उल्टो प¥यो वा ताराको बुझाइ ?

नारायणको गोपालको गीत सुनाउने ती ओली आज खहरे भएर निस्के ।

म तलाउ खोजीरहेको थिएँ ।

नेपालको राजनीतिमा खहरे पस्यो ।

(कुनैबेलाका पत्रकार, प्रवासी सञ्जय घिमिरेको यो टिप्पणी नेपाल प्लस अनलाईन(www.nepalplus.com)ले प्रकाशन गरेको थियो तर नेपालको राजनीतिसँग सन्दर्भ मिल्दो रहेकाले हामीले साभार गरेका हौं, पाठकले यसबाट लाभ नै उठाउनुहुने छ ।)

Leave a Reply

Your email address will not be published.