लोकसेवा सामाग्री : केही विषयगत प्रश्न-उत्तरहरू

नागरिकता भनेको के हो ? नेपालको संविधानअनुसार कस्ता व्यक्ति नेपाली नागरिक हुन सक्छन् ? उल्लेख गर्नुहोस्।

उत्तर – राज्यसँग नागरिकको कानुनी सम्बन्ध स्थापित गरी नागरिकका अधिकारको संरक्षण गर्ने दस्तावेज नागरिकता हो। नागरिक व्यक्तिगत पहिचान हो भने नागरिकता राज्य र नागरिकबीचको सम्बन्धजनित अवस्था हो । यस्तो सम्बन्ध स्थापना हुने अवस्था, आधार र विधि संविधान र अन्य कानुनले निर्धारण गरेका हुन्छन् । नेपालको संविधानको धारा

११ ले नेपालको नागरिक ठहर्ने आधार र अवस्था उल्लेख गरेको छ। यस धाराअनुसार नेपालको नागरिक हुन सक्ने आधार र अवस्था निम्नानुसार रहेका छन् :

– संविधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरेका व्यक्तिहरू,

– संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोबास भएका र संविधान प्रारम्भ हुनुभन्दा अघि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गरेका व्यक्तिलाई वंशजका आधारमा,

– संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोबास भएका र व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्ता व्यक्तिलाई वंशजका आधारमा,

– संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकका सन्तानका बाबु र आमा दुवै नेपालको नागरिक रहेमा निज बालिग भएपछि वंशजका आधारमा,

– नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजका आधारमा,

– नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले पछि बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो नागरिकता अङ्गीकृत नागरिकतामा परिणत हुने गरी वंशजका आधारमा,

– नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा सङ्घीय कानुनबमोजिम अङ्गीकृत नागरिकता लिन सक्ने,

– विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिई नेपालमा स्थायी बसोबास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको अवस्थामा सङ्घीय कानुनबमोजिम

अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्ने तर नागरिकता प्राप्त गर्दाका बखत बाबु र आमा दुवै नेपाली नागरिक रहेमा नेपालमा जन्मेको त्यस्तो व्यक्तिले वंशजका आधारमा नागरिकता प्राप्त गर्ने,

– सङ्घीय कानुनले व्यवस्थित गरेबमोजिम नेपालको सम्मानार्थ नागरिकता प्रदान गर्न सकिने,

– नेपालभित्र गाभिने गरी कुनै क्षेत्र प्राप्त भएमा त्यस्तो क्षेत्रभित्र बसोबास भएको व्यक्ति सङ्घीय कानुनको अधीनमा नेपालको नागरिक हुने।

वन भनेको के हो ? नेपालको प्रचलित कानुनमा व्यवस्था भएअनुसार वनका प्रकारहरू चर्चा गर्नुहोस्।

उत्तर – पूर्ण वा आंशिक रूपमा रुख वा बुट्यानले ढाकिएको क्षेत्रलाई वन भनिन्छ । नेपालको कुल भू–भागको ४४.७४ प्रतिशत अंश वन रहेको छ। तथापि वन क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा करिब २ प्रतिशतको योगदान गरेको अनुमान छ ।

नेपालमा वनसम्बन्धी मामिला व्यवस्थित गर्न वन ऐन, २०७६ र सोको नियमावली, २०७९ जारी भएका छन्। यी कानुनले गरेको व्यवस्थाअनुसार वनको विकास, संरक्षण, उपयोग र व्यवस्थापनका आधारमा वनका प्रकार निम्नानुसार छन् :

क. निजी वन : यसअन्तर्गत कुनै व्यक्तिको हक पुग्ने निजी जग्गामा लगाई हुर्काएको वा संरक्षण गरिएको वन पर्दछ। यस प्रकारको वनलाई स्थानीय तहमा दर्ता गरी प्रमाणपत्र प्राप्त गर्न सकिन्छ । निजी वनको धनीले वनको विकास, संरक्षण, व्यवस्थापन गर्न तथा वन पैदावारको उपयोग गर्न वा मूल्य निर्धारण गरी बिक्रीवितरण गर्न सक्दछन्।

ख. राष्ट्रिय वन : यसअन्तर्गत प्रदेशभित्रको राष्ट्रिय वन वा अन्तरप्रादेशिक वन, वन संरक्षण क्षेत्र, सरकारद्वारा व्यवस्थित वन, सामुदायिक वन, साझेदारी वन, धार्मिक वन र कबुलियती वन पर्छन् ।

उल्लिखित सामुदायिक वन, साझेदारी वन, धार्मिक वन, र कबुलियती वनहरू राष्ट्रिय वनको केही अंशलाई निश्चित सर्तको अधीनमा रही संरक्षण र व्यवस्थापन गर्ने गरी समुदाय, संस्था, समूहलाई

हस्तान्तरण गरिएका वन क्षेत्र हुन्। सम्झौतामा तोकिएका सर्त परिपालना नभएको पाइएमा यस्ता वन क्षेत्र सरकारले फिर्ता लिन सक्ने प्रावधान रहिआएको छ।

ग. स्थानीय तहद्वारा व्यवस्थित वन : यसअन्तर्गत स्थानीय तहले आफ्नो क्षेत्रभित्रको सार्वजनिक जग्गा र सहरी क्षेत्र तथा बस्तीका सार्वजनिक स्थानमा विकास र व्यवस्थापन गरेका वन पर्छन् । यी वनबाट प्राप्त हुने वन पैदावारको उपयोग तथा बिक्रीवितरण गर्न स्थानीय तह स्वतन्त्र रहन्छ ।

– विगतको ‘हरियो वन नेपालको धन’को मान्यता अहिले समृद्धिका लागि वनको अवधारणाका रूपमा विकसित भएको छ। तसर्थ वनलाई स्थानीय रोजगारी सिर्जना, आयआर्जन वृद्धि, गरिबी न्यूनीकरण तथा व्यापार घाटा न्यूनीकरणलगायतका विषयसँग जोड्दै मुलुकको समृद्धिका लागि उपयोग गर्नु आवश्यक देखिन्छ।

Leave a Reply

Your email address will not be published.