अल्फाबिटाको अवैध संरचनामा काठमाडौं महानगरले चलायो डोजर

काठमाडाैं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचनामा तत्काल डोजर चलाएको छ ।

कानूनबमोजि नै कम्प्लेक्सको भुइँतल्लामा व्यापारिक संरचना निर्माण गरिएको तथा राज्यलाई कर तिरिरहेको दाबी गर्ने अल्फाबिटाका सञ्चालकको शेखी छार्न मेयर बालेनले आजको आजै डोजर चलाएका हुन् ।

आज बिहान अनुगमनका लागि उक्त कम्प्लेक्स पुगेका मेयर बालेन साहसँग वैधानिक रूपमै संरचना बनाइएको दाबी गर्ने कम्प्लेक्स सञ्चालकसँग भनाभन भएको थियो ।

सो क्रममा कम्प्लेक्स प्रतिनिधिले नक्सा लिएर आउन र नक्सा हेरेर मात्रै आफूहरूसँग कुरा गर्न भन्दै मेयर साहलाइ कानूनी उपचारको धाक लगाएर फिर्ता पठाएका थिए ।

शर्मासँग भनाभन भएपछि बालेन सोझै महानगर कार्यालय आएका थिए। कार्यालयमा आएर अल्फाबिटाको नक्सा र डोजर लिएर उनी दिउँसो फेरि अल्फाबिटामा पुगे।

अल्फाबिटामा उनले उपस्थित पत्रकारहरूलाई नक्सा देखाए। त्यसपछि डोजरले अवैध संरचना भत्कायो। अल्फाबिटाको अवैध संरचनामा डोजर चलाएपछि शाहले फेसबुक स्टाटस लेख्दै आफूले केही नबिराएको बताएका छन्।

उनले लेखेका छन्- उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ। मैले के बिराएँ। अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफैं बुझेर अवैधानिक रूपमा बनाइएको संरचना हटाइदिनु होला। नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइदिनु होला।

फिर्ता भएको केही घण्टामा नै मेयर बालेन अहिले उक्त कम्प्लेक्सको नक्सा र संरचना भत्काउने डोजर तथा नगर प्रहरीसहित अल्फबिटा पुगेका छन् ।

बालेन र शर्माबीच भनाभन

निर्देशक द्विराज शर्माले भने, ‘सरकारसँग अनुमति लिएर संरचना बनाइएको हो।’ त्यसपछि प्रमुख शाहले ‘नक्सा देखाउन’ शर्मासँग आग्रह गरे। ‘हजुरसँग हुनुपर्ने’ निर्देशक शर्माको जवाफ थियो।

त्यसपछि प्रमुख साहले भने, ‘तपाईंको घरको नक्सा अरुसँग हुन्छ ? अलि चर्काे स्वरमा भने ।  त्यसलगत्तै निर्देशक शर्माले, ‘तपाईं हाम्रो जनप्रतिनिधि भएर आवेशमा आएर नबोल्नुस्’, भनेपछि मेयर शाह केही शान्त मोडमा देखिएका थिए।

‘३५ दिने सूचना दिएको र त्यस अवधिमा पनि खाली नभएपछि आफू अनुगमनमा निस्किएको’ उनकाे भनाइ थियो। प्रमुख साह र कम्प्लेक्सका निर्देशक शर्मा बीच केहीबेर सवाल जवाफ नै चलेकाे थियो ।

अनधिकृत रुपमा बनाइएका संरचना खाली गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने सूचना जारी गरेको थियो। तर, त्यो सूचनाको अवज्ञा भएपछि प्रमुख साहले आफ्नै नेतृत्वमा त्यस्ता अनधिकृत रुपमा बनाइएका भौतिक संरचना हटाउने काम सुरु गरेका हुन्।

प्रमुख शाहले अनुमतिबिना सञ्चालनमा आएका संरचना हटाउनका लागि काठमाडौं महानगरका कर्मचारी, सुरक्षाकर्मी र ट्राफिक प्रहरीलाई परिचालन गरेका छन्। बुधबार सुनधारा र न्युरोड क्षेत्रमा बनेका अनधिकृत संरचना हटाइएको थियो।

Leave a Reply

Your email address will not be published.