बालेनप्रति महेश बस्नेतको टिप्पणी- डोजर चलाउन रहर भए सिकेर आउनुस्

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)को पछिल्ला कार्यप्रति टिप्पणी गरेका छन् ।

मेयर बालेनले पछिल्ला दिन अनाधिकृत संरचना भत्काउन आफैं उपस्थित भएर अघि सरिरहेका छन् । त्यसै विषयमा नेता बस्नेतले कटाक्ष गरेका हुन् ।

‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरें खुसी लाग्यो । तपाईलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगर पालिकामा काजमा आउनुहोला,’ बस्नेतले फेसबुकमा लेखेका छन् ।

बिहीबार अल्फाबिटाको भवन भत्काउने क्रममा सञ्चालकसँग भनाभन भएको थियो । त्यसक्रममा मेयर बालेनले कार्यालय पुगेर नक्सा लिएर आएका थिए ।

बस्नेतले बालेनलाई डोजर चलाउने रहर भए सिकेर आउन पनि सुझाएका छन् । उनले लेखेका छन्, ‘तपाइँलाई भत्काउने र ध्वंस गरेर हिरो हुन्छु भन्ने लाग्या होला । हाम्रोतिर ध्वंस होइन निर्माणको लहर चलेको छ । यताका डोजरमा मेयर चढ्दैनन् ड्राइभर चढ्छन् । डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनुहोला ।’

त्यस्तै, २, ४ सय फेसबुके फ्यान भए भनेर नमात्तिन पनि बस्नेतले बालेनलाई आग्रह गरेका छन् । ‘विगतका यस्ता २,४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन् खोज्नै पर्ने भाको छ ।

गाली गलौजको संस्कृति हाम्रो संस्कृति होइन । त्यसको विकास र प्रोत्साहनमा अहिले त रमाइलै होला पछि तपाईंका बिरोधीले पनि त्यही शैली अपनाए भने गाह्रो होला,’ बस्नेतले अगाडि लेखेका छन् ।

Leave a Reply

Your email address will not be published.