आफ्नो छोरासँग स्कुल पढ्ने नेपाली आमा

काठमाडौं। नेपालमा ५७ प्रतिशत महिला मात्र लेखपढ गर्न सक्छन्। यही महिलाहरूको समूहमा पर्छिन पार्वती सुनार। किशोरी अवस्थामै उनले लेखपढ गर्न छोडिसकेकी थिइन। १६ वर्षको हुँदा उनी आमा बनिन्। तर, अहिले उनी छुटेको आफ्नो शिक्षा पुरा गर्ने अभियानमा जुटेकी छिन्।

२७ वर्षीय पार्वती दुई कोठाको घरमा आफ्नो जेठो छोरा रेशम (११), कान्छो अर्जुन (७) सँगै सासुसँग बसोबास गर्छिन्। उनको श्रीमान दक्षिण भारतको चेन्नई शहरमा मजदुरी गर्ने गर्छन। पढाईको हिसाबले यो घरमा कुनै सुविधा छैन। तर पनि आशाको किरण पिल्पिलाइ रहेको छ।

सुनारको घरमा न कुनै सौचालय छ, न पानी पिउन कुनै धाराको पाइप नै। पुरै परिवार बिहान उठेर घर नजिकै रहेको वाटर पम्पमा नुहान र कपडा धुन पुग्छ। छेउकै खेतीमा शौचालयको आवश्यकता पूर्ति हुने गरेको छ।

बिहानको नित्य कार्य सम्पन्न गरेपछि भात र दाल खाएर उनी आफ्नो छोरासँगै स्कुलको ड्रेसमा निस्किने गर्छिन। स्कुल पुग्न २० मिनेट लाग्छ। रेशमलाई पनि आफ्नो आमासँग स्कुल जान कुनै समस्या छैन। रेशम भन्छन्, ‘हामी कुरा गर्दा गर्दै स्कुल पुगिसकेका हुन्छौं। आमासँगै कुरा गर्ने क्रममा हामीले धेरै कुरा सिकिरहेका पनि हुन्छौं।’

दक्षिण पश्चिम नेपालको पुनरबास गाउँको एउटा स्कुलमा सुनार ७ कक्षामा अध्ययनरत छिन्। १४ वर्षका विजयले उनीसँग पढ्न पाउँदा रमाइलो लागिरहेको बताए। विजय भन्छन्, ‘दिदी निकै राम्री छिन्। म उनलाई अध्ययनमा सघाउँछु। उहाँ पनि मलाई सहयोग गर्नुहुन्छ।’

१० कक्षाकी छात्रा श्रुति भन्छिन्, ‘उहाँ निकै राम्रो गरिरहनु भएको छ। मलाई लाग्छ, अरुले पनि उहाँको बाटो पछ्याएर स्कुल जानु जरुरी छ।’

आधिकारीक तथ्यांक अनुसार नेपालमा ९४ दशमलव ४ प्रतिशत महिला प्राथमिक स्कुलमा जाने गर्छन तर यसमा आधा जतिले बीचैमा पढाई छोड्ने गर्छन। यसको प्रमुख कारण किताव र कपीको कमि तथा गरिबीलाई कारण देखाइएको छ।

पार्वती अहिले स्कुलको शिक्षा पुरा गर्न चाहन्छिन्। स्कुलपछि उनी आफ्ना छोराहरूसँग न्यु वल्र्ड भिजन कम्प्युटर इन्सिच्युटमा कम्प्युटर सिक्न निस्किन्छन्। भविस्यमा यो पढाईले अड्डा अदालतमा काम दिलाउन सहयोगी सावित हुने उनको बुझाई छ।

सुनारलाई किशोरी हुँदा स्कुल पढ्न नपाएकोमा ठूलो पछुतो छ। उनले भारतमा घरेलु कामदारको काम छोडेर आफ्नो पुरा समय अध्ययनमा लगाउने फैसला गरेकी थिइन। यही अन्तर्गत उनी कम्प्युटरलगायत अन्य चिजहरू राम्रोसँग सिकिरहेकी छिन्।

उनी भन्छिन्, ‘सिक्न बस्दा मलाई मजा लाग्छ। आफ्नो छोराहरूको उमेरका छात्रछात्रासँग स्कुल जान पाउँदा म गर्वान्वीत भएको छु।’

सुनारका श्रीमान करिब २ हजार किलोमिटर टाढा चेन्नईमा बसेर मजदुरी गरिरहेका छन्। उनी परिवारको खर्च उठाउँछन्। तर, परिवारसँग टाढा रहनु पर्दाको पिडा पनि छ। भिडियो कल परिवारलाई जोड्ने अर्को उपाय हो।

स्कुलको अध्ययन पुरा गरेपछि के काम गर्ने हो, त्यो पार्वती सुनारलाई थाहा छैन। तर, उनी जसरी पनि आफ्नो अध्ययन पुरा गर्न चाहन्छिन्। उनको अहिले विश्वास चुलिएको छ। उनी आफू एक्लो नभएको बताउँछिन्। उनी ग्रामीण नेपालमा बसोबास गर्ने अन्य महिलाका लागि पनि उदाहरण बनेकी छिन्। श्रोतः डिडब्ल्यु

Leave a Reply

Your email address will not be published.