कक्षा १२ को नतिजा प्रकाशन तयारी

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले गत जेठमा सञ्चालन गरेको कक्षा १२ परीक्षाको नतिजा प्रकाशनको तयारी गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सैद्धान्तिक र प्रयोगात्मकतर्फको अलगअलग स्तरीकृत अङ्क (ग्रेड) उल्लेख गर्नुपर्ने

हुँदा सोको रुजुलगायत प्राविधिक कार्य भइरहेकाले केही दिनभित्र परीक्षाफल प्रकाशनमा हुने राससलाई बताउनुभयो । हालको निदेर्शिकामा विद्यार्थीले सैद्धान्तिक र प्रयोगात्मक दुवैमा उत्तीर्ण हुनुपर्ने व्यवस्था छ ।

बोर्डले यसअघि भदौ १५ गतेभित्र परीक्षाफल प्रकाशन गर्ने र त्यसका लागि भदौ १४ गते बोर्डको बैठक बस्ने पूर्व योजना बनाएको थियो । गत जेठ १६ गतेदेखि २५ गतेसम्म भएको परीक्षामा चार लाख १० हजार विद्यार्थी सहभागी थिए ।

गाउँमै विद्यालय बनेपछि बालबालिकालाई सहज

स्थानीयको जनश्रमदानमा तेह्रथुमको लालीगुराँस नगरपालिका–५ सिरिसेमा विद्यालय भवन निर्माण भएको छ । विद्यालय भवन निर्माण गर्न नगरपालिकाले रु दुई लाख ५० हजार विनियोजन गरेको थियो । सो रकमले अपुग भएपछि स्थानीयले जनश्रमदान गरी सिरिजङ्गा आधारभूत विद्यालयको भवन निर्माण भएको हो ।

विद्यालय स्थापनाका लागि स्थानीय लोकमान लिम्बू मादेनले निःशुल्क जग्गा प्रदान गरेपछि विद्यालय भवन निर्माण भएको हो । सिरिसेमा विद्यालय भवन सम्पन्न भएसँगै विद्यालयमा पठनपाठन सुरु भएको छ । बाल कक्षामा २० विद्यार्थी भर्ना भएको विद्यालयका शिक्षिका सुशीला लिम्बूले बताउनुभयो ।

बालबालिका घर नजिकै विद्यालय नहुँदा घण्टौँ लामो बाटो हिँडेरै विद्यालय जान बाध्य थिए । तर गाउँमै विद्यालय भवन बनेर पढाइ सुरु भएपछि यहाँका बालबालिकालाई सहज भएको छ ।

विद्यालय स्थापनासँगै आधुनिक प्रविधिबाट विद्यालयमा पठनपाठन गर्ने तयारी भइरहेको नगरपालिकाका नगरप्रमुख अर्जुन माबोहाङले बताउनुभयो । विद्यालयमा बालबालिकालाई कम्प्युटर शिक्षाका साथै दृश्यचित्र प्रविधिबाट शिक्षा दिने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।—

 

Leave a Reply

Your email address will not be published.