कैलाली-५ मा कांग्रेसबाट ‘आरजु म्याडम’ उम्मेदवार

काठमाडौँ । आगामी निर्वाचनमा उम्मेदवार चयनका लागि कैलाली क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा सिफारिस भएकी छन् । कैलाली-५ बाट उनको नाम एकल सिफारिसमा परेको छ ।

बुधबार क्षेत्र नं. ५ प्रदेश सभा क्षेत्र (क) र (ख) क्षेत्रीय कार्यसमितिहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली-५ बाट नेता आरजु देउवाको नाम एकल सिफारिस गर्नुपर्ने निर्णय गरेका छन् । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बैठक बिहीबार बस्दैछ ।

कैलाली-५ का सभापति भीम पडालले बुधबार दुवै प्रदेशबाट प्रतिनिधिसभाका लागि राणाको मात्रै नाम सिफारिस भएर आएको बताए । उनका अनुसार क्षेत्रीय कार्यसमितिको बैठक बिहीबार बस्दैछ । क्षेत्रीय कार्यसमितिमा पनि राणाको नाम सिफारिस गर्न दबाब छ ।

कांग्रेस केन्द्रीय सदस्य नृपबहादुर वडले कैलाली-५ बाट प्रतिनिधिसभाका लागि आरजु राणाको नाम एकल सिफारिस हुने बताए । ‘प्रदेश कार्यसमितिले एकल सिफारिस गर्न निर्णय गरिसकेका छन् । अब प्रतिनिधिसभा क्षेत्रले पनि त्यही निर्णय गर्छ,’ उनले भने, ‘यहाँबाट एकल सिफारिस हुन्छ ।’

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीसमेत रहेकी राणा ०७४ को निर्वाचनमा पनि यहीँबाट उम्मेदवार थिइन् ।

उनी वाम गठबन्धनका नारदमुनि रानासँग पाँच हजारभन्दा बढी मतान्तरले पराजित भएकी थिइन् । रानाले २७ हजार २०२ मत ल्याएका थिए भने राणाले २२ हजार ३२२ मत पाएकी थिइन् ।

 

Leave a Reply

Your email address will not be published.